धनगढी। नेकपा एमालेले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि नेकपा एकीकृत समाजवादीले कोर्स परिवर्तनको सङ्केत देखाएको छ ।
समाजवादी निकट स्रोतका अनुसार एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताएर अगाडि बढ्ने बताएको छ । सुदूरपश्चिममा समाजवादीले एमालेलाई दिउँसो २ बजेसम्म निर्णय गर्न अल्टिमेटम दिएको छ ।
त्यसपछि पनि एमालेले निर्णय नगरेको अवस्थामा कांग्रेससहितको वैकल्पिक गठबन्धनको सहयोगमा सरकार निर्माण गर्ने समाजवादीका एक नेताले जानकारी दिए । बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफलमा प्रदेशमा मिलेर जाने विषयमा छलफल भएको थियो। सो छलफलको क्रममा देउवा सकारात्मक देखिएपछि एकीकृत समाजवादीले एमालेलाई अल्टिमेटम दिने अवस्थामा पुगेको हो ।
एमाले सुदूरपश्चिम संसदीय दलले भने केन्द्रको निर्देशन कुरेर बसेको बताएको छ । एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिंह रावलले पनि त्यसको पुष्टि गरे । उनले भने, ‘केन्द्रबाट एमाले हामीलाई जे निर्देशन आउँछ, त्यही गर्ने हो । पार्टी केन्द्रले समर्थन गर भनेर भनेको छैन। हामी पार्टी केन्द्रको निर्णय कुरिरहेका छौँ ।