बैतडी। बैतडीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ की १४ बर्षीया कलावती लुहार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले घरभन्दा एक सयमिटर पर रहेको खयर रुखमा झुण्डिएको अवस्थामा कलावतीको शव फेला परेको बताए। शुक्रबार दिउँसो कलावतीले झुण्डिएर आत्महत्या गरेकी हुन्। उनले आत्महत्या किन गरिन् भन्ने कुरा खुलेको छैन्। पहिला नै आमाबुवा गुमाइसकेकी कलावती वृद्ध हजुरबुवासंग बस्दै आएकी थिइन् ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए। यसअघि (बुधबार चैत १४ बिहान) बैतडीको पञ्चेश्वर गाउँपालिका-१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की मृत फेला परेकी थिइन् । उनी विद्यालयबाट घर आउने समयमा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका-१ का वडा अध्यक्ष दिवान सार्कीले बताएका छन। डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिताले किन झुण्डिएर आत्महत्या गरिन् भन्ने बिषय खुलेको छैन्। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।