धनगढी : निवर्तमान सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले संघियता कार्यान्वयनमा केही समस्या रहेको बताएका छन् । सोमवार पदमुक्त भएका जोशीले मङ्गलवार धनगढीमा पत्रकारसँगको भेटघाटमा मुल मर्म अनुसार संघियता चल्न नसकेको बताएका हुन् । संघियता जुन उद्देश्यले ल्याइएको थियो त्यसरी चल्न सकेको छैन उनले भने “संबिधानमा लेखिए अनुसार संघियता कार्यान्वयन हुन सकेको छैन, जनताका गुनासा सम्बोधन भएका छैनन्, त्यस कारण संघियता कार्यान्वयनमा समस्या देखियो ।”
जोशीले पहिलेजस्तै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुने बताए । २०७८ को कात्तिक २३ मा नियुक्त भएका जोशीले करिब २८ महिना प्रदेश प्रमुखको जिम्मेवारी सम्हाले । यो अवधिमा आफ्नो जिम्मेवारी र भूमिका सही ढङ्गले निर्वाह गर्न सकेको जोशीले बताए । उनले आफ्नो कार्यकाल सफल भएको दाबी समेत गरे । संविधानले दिएको दायित्व निर्वाह गर्न सकेकोमा खुशी लागेको बताउँदै जोशीले सबै पक्षबाट सहयोग र सद्भाव पाएको बताए ।