कञ्चनपुर। कञ्चनपुरमा भुस्याहा कुकुरबाट चार लाखभन्दा बढी मूल्यका कुखुरा मारिएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु। चार लाखभन्दा बढी मूल्यका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् ।
आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो । सयभन्दा बढी कुखुरा घाइते छन् । फार्म सञ्चालक आशाले बैंकबाट रु। १२ लाख कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेको बताइन् ।उनले भनिन्, दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी व्यहोर्न बाध्य भएका छौँ ।”
फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उनले बताइन् । फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी कुकुरलाई भगाउन सकिएको उनले बताइन्। वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको उनको भनाइ छ । नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताइन् ।
“पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो सङ्ख्यामा कुखुरा मारिदिए, बाटो हिँडने व्यक्तिाई पनि झम्टिने गरेको छ”, उनले बताइन्, “धेरै व्यक्तिलाई टोक्दा रेबिजको खोप लगाइरहेका छन् ।” नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उनको भनाइ छ । कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि आग्रह गरेका छन्।रासस


