धनगढी। पक्राउ पूर्जी जारी भएपछि कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा र पूर्व अध्यक्ष अशोकराज देवकोटा फरार भएका छन्।
नक्कली टिकट प्रकरणमा उनीहरुमाथी पक्राउ पूर्जी जारी भएपछि संघका अध्यक्ष बोहरा र पूर्व अध्यक्ष देवकोटा फरार भएका हुन्। सुदूरपश्चिम प्रादेशिक महोत्सव, अत्तरियामा नक्कली टिकट बिक्री गरेको आरोपमा चार जना पक्राउ गरिएपछि बोहरा र देबकोटामाथि पनि पक्राउ पूर्जी जारी भएको थियो। कैलाली प्रहरीका प्रवक्ता कुलदिप चन्दले उनीहरु सम्पर्कमा नरहेको बताए।
उनले भने, ‘घटना अनुसन्धानको चरणमा रहेको छ। उहाँहरू सम्पर्कमा आउनु भएको छैन।’सुदूरपश्चिम प्रादेशिक महोत्सव,अत्तरियामा नक्कली टिकट विक्री गरेको आरोप लागेका चार जना प्रहरीको हिरासतमा रहेका छन्। अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष बोहरासहितको टोलीले महासचिव शंकर खड्कासहित चार जना विरुद्ध किटानी जाहेरी दिएका थिए।
ठेली छपान गर्ने बमबहादुर बोगटी,रुजु गर्ने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का,सचिव दिलिप साउँद, बिक्रीको जिम्मा पाएका दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा प्रहरीको हिरासतमा रहेका छन्। अध्यक्ष बोहराको नामसमेत नक्कली टिकट प्रकरणमा जोडिएपछि उनीहरू फरार भएका हुन्।
प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्रीका लागि राखिएको फेला परेका थिए। प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट बिक्रीका लागि ठेली छपान गरिएको फेला परेको छ। दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुले प्रतिटिकटमा २ रुपैयाँ पाउने सम्झौतामा बिक्रीको काम गरेको थियो। प्रहरीले नक्कली टिकट प्रकरणको घटनामा अनुसन्धान गरिरहेको जनाएको छ ।