धनगढी। अपाङ्गता भएका युवाहरुले राजनीतिक,सामाजिक तथा युवा लक्षित बिभिन्न संघ संस्थामा समावेशिता तथा प्रतिनिधित्व हुन नसकेको बताएका छन्। शुक्रबार धनगढीमा भएको अपाङ्गता भएका व्यक्तिको राजनितीमा समाबेशीता,सहभागिता तथा प्रतिनिधित्व बिषयक अन्तर संवादमा उनीहरुले सो कुरा बताएका हुन्।
स्थानिय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वका निम्ति आरक्षणको व्यवस्था गर्नुपर्ने, राजनीतिक दलका संरचनागत तह र जनवर्गीय संगठनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्ने, निर्वाचन आयोगमा राजनितिक दल दर्ता गर्दा पेश गरिने सदस्य संख्यामा अपाङ्गता भएका व्यक्तिहरुको निष्ठित प्रतिशत सुनिश्चित हुनुपर्ने उनीहरुको भनाई छ।
नेत्रहिन युवासंघ कैलालीका उपाध्यक्ष मानसिंह बिष्टले अपाङ्गता भएका व्यक्तिको सहभागिता, प्रतिनिधित्व तथा समावेशिता सुनिश्चित गर्न राजनितिक दलहरूबाट अपेक्षित भूमिका रहनुपर्ने बताए। शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपाङ्गता भएका व्यक्तिको सहभागिता, प्रतिनिधित्व तथा समावेशिता नितीगत रुपमा सुनिश्चित गर्ने र साँसदले संसदमा आवाज उठाउनुपर्ने बताए। यस्तै नेत्रहिन युवासंघ नेपालका केन्द्रीय महासचिब अर्जुन रावलले प्रदेशमा अपाङ्गतामैत्री भौतिक संरचनाका कारण अपाङ्गता भएका ब्यक्तिले बिभिन्न समस्या भोगिरहेको बताए।
प्रदेशमा राजनीति तथा निति निर्माण तह, सामाजिक संस्थान, नागरिक समाज एवम् गैरसरकारी संस्था र युवा लक्षित संस्थामा अपाङ्गता भएका युवाको समावेशिता तथा प्रतिनिधित्व अभिवृध्दि गराउने तर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । शारीरिक अपाङ्गता) वहिरा, सुस्त श्रवण, दृष्टि सम्वन्धी, स्वर तथा वोलाइ सम्वन्धी,मानसिक अपाङ्गता, वौद्धिक अपाङ्गता लगायत अटिजम अपाङ्गता भएकाहरुको लागी तिन तहकै सरकारले ध्यान दिनुपर्ने बताए।
अपाङ्गता भएका युवाको शिक्षा, यौन तथा प्रजनन् स्वास्थ्य, रोजगारी, क्षमता विकास, राजनितिक सहभागिता तथा प्रतिनिधित्वलगायत विभिन्न क्षेत्रमा ठोस रुपमा लाग्नुपर्ने उनको जोड छ। कार्यक्रममा सहभागी सांसदहरुले पनी अपाङ्गता सम्बन्धी ऐन बनीसकेको र नियमावली बनाई कार्यान्वयन गर्न बाँकी रहेको बताएका छन् । प्रदेशमा अपाङ्गता भएकाहरुको एक दमै जटिल समस्या रहकाले त्यस्कालागी आफुहरु त्यस्का लागी संसदमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।