दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका ५ का वडाध्यक्ष जनकसिंह डागाले नगरपालिकाका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । नगरपालिकाका सहायक लेखापाल विजयसिंह विष्टले प्रक्रिया नपुगेको बिलमा भुक्तानी दिनका लागि दबाब दिँदै वडाध्यक्ष धामीले आफूलाई ज्यान मार्ने धम्की दिएका जानकारी दिए ।
‘लेखा शाखामै आएर वडाध्यक्षले मलाई बिल भुक्तानी किन नगरेको भन्दै धक्कामुक्की गरे । भनेको नमान्ने भए काम गर्न नआउनू भनेका छन् । लेखामा आएर काम गरेको देखेमा तँलाई मार्छु भनेर धम्क्याएपछि म कार्यालयबाट निस्किए’, सहायक लेखापाल विष्टले भने ।
यही माघ १० गते नमस्कार निर्माण सेवा प्रालिले नगरपालिका अन्तर्गत वडा नम्बर ९ मा रहेको गोकुलेश्वर कृषि भवनको जग्गा सफाइ सम्पन्न भएको भन्दै भुक्तानीका लागि निवेदन दिएको थियो । सोही निवेदनमा तोक लगाएर प्रमुख प्रशासकीय अधिकृत पुस्करसिंह धामीले भुक्तानीका लागि लेखा शाखामा पठाएका थिए ।
सहायक लेखापाल विष्टले सोही पत्रमा प्रक्रिया नपुगेका कारण भुक्तानी दिन नसकिने भन्दै फिर्ता पठाएका थिए। सोही विषयलाई लिएर वडाध्यक्ष डागाले सहायक लेखापाललाई धम्क्याएका हुन् । यता वडाध्यक्ष डागाले भने सामान्य विवाद भएको बताएका छन् ।मैले धम्की दिएको छैन, भुक्तानी नरोक्न भनेको हुँ, विष्टले अटेरी गरे, वडाध्यक्ष डाँगाले भने । उनले भने सो बिषयमा अहिले समझदारी भैसकेको बताए ।
यस्तै शैल्यशिखर नगरपालिकामा कार्यरत सहलेखापाल विजयकुमार विष्टलाई धम्क्याएर मध्य राति चेक काट्न लगाएको घटना बाहिरिएको छ। नगरपालिकामा कार्यरत इन्जिनियर योगेशसिंह धामी र सवइन्जिनियर सुनिल रावलसहितको समूहले मध्य राति लेखापाल विष्टको घरमा गएर धम्क्याएका हुन् । घटना गत पुस २८ गतेको हो । सो दिन मध्य राति मदिरा सेवन गरेर इन्जिनियर धामी र उनका केही सहयोगीहरू लेखापाल विष्ट बस्ने घरमा छिरेका थिए । उनीहरूले राति नै कार्यालयमा गएर भ्रमण बिल र मोटरसाइकल मर्मतको रकम भुक्तानी गर्न धम्क्याएका थिए।
कार्यालय प्रमुखले तोक लगाएको जुनसुकै बिल भरपाईहरू तुरुन्तै पास हुनुपर्ने भन्दै उनीहरूले राति कार्यालयमा गएर चेक काट्न दबाब दिएका थिए । शाखाको काम रोकिएको खण्डमा आफूहरूले सार्वजनिक स्थानमा कुटपिट गर्ने लगायतका धम्कीहरू दिएका थिए ।
लेखापाल विष्टले मध्य राति घरमा गएर धम्क्याउने, कुटपिट गर्नेजस्ता क्रियाकलापले ज्यान जोखिममा रहेको भन्दै आवश्यक कारबाहीको लागि प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीलाई निवेदन दिएका छन् । तर प्रमुख प्रशासकीय अधिकृत धामीले समस्या समाधानमा चासो नदेखाएपछि प्रशासनमा उजुरी दिने विष्टले बताएका छन्।वडाध्यक्ष डाँगाले भने सो बिषयमा अहिले समझदारी भैसकेको र सो बिषय मिलीसकेको बताए ।