अत्तरिया । कैलालीको गोदावरीमा सिकलसेल एनिमिया रोग स्क्रिनिङ्ग तथा निदान सम्बन्धी निशुल्क शिविर शुरु भएको छ । नगरपालिकाको वडा नम्बर ५ वरबट्टामा आज (मंगलबार) देखी शुरु भएको शिविर ५ दिन सम्म सञ्चालन हुने भएको हो।
गोदावरी नगरपालिकाको आयोजनामा शुरु भएको शिविरमा नेश्नल प्याथ ल्यावले प्राविधिक सहयोग गरेको छ । शिविरको मंगलबार एक कार्यक्रमका विच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले सिकलसेल एनिमिया रोग थारु जातीमा हुने भएकाले यस्को चेकजाँच गर्नका लागि वडामा शिवर सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताए ।
उनले थारु समुदाय भएको वडा नम्बर ३ को मुक्तिमा पनि शिविर सञ्चालन गरिने बताए। सिकलसेल एनिमिया रोग विशेष गरी थारु समुदायका व्यक्तिहरुलाइ लाग्ने गरेको पाइन्छ ।यो रोग कैलाली, कंचनपुर, बाके, बर्दिया, दाङ लगायतका पश्चिम जिल्लाहरुमा देखिने गरेका छन।
सिकलसेल रोग रगतमा हुने राता रक्त कोषहरू गोलाकार नभई हसिया आकारका रहेको हुन्छ,जसले गर्दा सिकलसेल हुने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए। सिकल्सेल रोगमा श्वास प्रश्वासमा समस्या, रक्त अल्पता, जन्डिस, कलेजोको समस्या, हातखुट्टा दुख्ने, रगतको कमि हुने जस्ता लक्षण देखिन्छन । त्यसैले यस्ता चिन्ह लक्षण भएका व्यक्तिहरुलाइ सिकलसेल तथा थालासेमिया हुन सक्ने अवस्थीले बताए।


