धनगढी । सुदूरपश्चिम सरकारको काम प्रभावकारी नभएको भन्दै सत्तारुढ दलले नै प्रदेश सरकारको चर्को आलोचना गरेका छन् । सोमबार प्रदेश सभा बैठकको सत्तारुढ दलका सांसदहरूले नै सरकारको काम प्रभावकारी नभएको र सुस्त भएको आरोप लगाएका हुन् ।
शून्य समयमा बोल्ने सरकारको नेतृत्व गरेको कांग्रेसका सांसद, महत्पूर्ण मन्त्रालय सम्हालिरहेको माओवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले सरकारको आलोचना गरेका हुन् । माओवादीका उपनेता अक्कल रावलले बजेट पारित गर्ने बेलामा गरेका बाचाहरू पुरा नगरेको बताए । ‘माननीयहरूलाई सोर्दैन । हामी सुन्दै छौँ बहुबर्सिय ठेक्काहरू केही सीमित भूगोलमा भकाभक भइरहेका छन् ’ सरकार एकलौटी ढङ्गले अगाडी बढिरहेको भन्दै उनले भने, ‘सिङ्गो सुदूरपश्चिम बेखवर छ । सिङ्गो संसद् बेखवर छ । यो अवस्था कसरी आयो म प्रश्न गर्न चाहन्छु ।’
एक मन्त्री र एक राज्यमन्त्री सहित सरकारमा सहभागी भएको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूले पटक पटक विभिन्न विषयमा ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिएको आरोप लगाए । उनले बाढी पीडितहरूको समस्या समाधान गर्न पनि सरकार गम्भीर नभएको आरोप लगाए ।‘तराइमा बाढीका कारण ठुलो क्षति भइरहेको छ एक वर्ष बितिसक्दा पनि सरकारले न नदी नियन्त्रणको लागि पहल गरेको छ नत राहत उपलब्ध गराएको छ रु ’ उनले गुनासो पोखे ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले पछिल्लो पटक ठेक्का लगाएका १९ सडकको विषयमा पनि चौधरीले गुनासो पोखेका थिए । योजनाको ठेक्का र टेन्डरको विषयमा जानकारी नदिएको भन्दै सरकार लाचार भएको चौधरीको भनाइ थियो ।बहुवर्षीय ठेक्काका विषयमा उनले जवाफ मागे । सरकार सदन र व्यवस्था प्रति जिम्मेवार नभएको भन्दै उनले दाइत्व निभाउन आग्रह गरेका थिए ।
काङ्ग्रेसकै सांसद प्रकाश बमले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको नाममा कमिसनको खेल भइरहेको भन्दै सरकार लेनै छानबिन गर्नु पर्ने बताए ।झन्डै २ करोडमा आउने सामग्री कसिनका लागि ९ करोडमा टेन्डर दिएको भन्दै उनले त्यसमा मन्त्रीपरिषद्ले छानबिन गर्नु पर्ने बताए ।काङ्ग्रेसकै अर्की सांसद मधु भारतीले कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारको जोड बल अझै नपुगेको भन्दै प्रदेश सरकार एवम् संघीय सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
सत्तापक्षकै सांसदहरुदले आलोचना गरेको प्रदेश सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलले पनि गुनासो नै गुनासो पोख्यो ।एमाले संसदीय दलका उपनेता सन्तोष कुमारी शर्मा थापाले भ्रष्टाचार शृङ्खला रोक्न र सुशासन कायम गर्न सभामुखबाट रुलिङ गर्न आग्रह गरिन् । चुरेको दोहनलाई सरकारले रोक्न नसकेको भन्दै उनले विकासका कामहरूमा पनि सरकारले तीव्रता नदेखाएको बताइन् ।
एमाले प्रमुख सचेतक सुरेन्द्र पालले एक वर्ष बितिसक्दा पनि बिजनेस दिन नसकेको बताए । उनले सरकार र जनता बिचको दुरी टाढिँदै गएको बताए । उनले भने ‘सात महिना सम्म १४ प्रतिशत खर्च भएको छ । एउटै निर्वाचन क्षेत्र भित्रमा वडामा १९ वटा ठेक्का गरेर सरकार पूर्वाग्रही भयो । ’सार्वजनिक लेखा समितिको सभापति समेत रहेका एमाले सांसद वीर बहादुर थापाले सरकारको खोजी गर्नु पर्ने बेला आएको टिप्पणी गरे ।
‘सरकार कहाँ छ भन्ने कुरा जान्नु पर्ने भएको छ । धेरै पटक धेरै विषयमा जवाफ मागिएको छ तर, उत्तर आएको छैन ’ उनले भने, ‘रुलिङ पनि हुँदैन सरकारले जवाफ पनि दिँदैन अनि किन हामी बोल्ने रु ’प्रदेश सरकारको बारेमा नकारात्मक टिप्पणी बढ्दै गएको उनले बताए । ‘सरकार सीमित मन्त्री भएको क्षेत्रको मात्रै हो कि सुदूरपश्चिम प्रदेशको हो’ उनले प्रश्न गरे ।एमाले सांसद चक्र मल्ल र धर्म पाठकले पनि सरकार जनताको समस्या प्रति गम्भीर नभएको बताएका थिए । उनीहरूले सरकार आफ्नै नीति तथा कार्यक्रम भन्दा बाहिर गएको बताए ।
सोमबारको शून्य समयमा बोल्ने सबैजसो सांसदहरूले सरकारको आलोचना गरेका थिए । सरकारले सांसदको प्रश्नको जवाफ नदिएको गुनासो गरेपछि सभामुख भीम भण्डारीले सरकारलाई रुलिङ गरेका छन् ।‘शून्य समयमा उठाएका जवाफ ७ दिन भित्र दिन प्रदेश सरकारलाई रुलिङ गर्दछु’ भण्डारीले प्रदेश सभामा भने ।
सोमबारको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा समक्ष टेबल गरेको जानकारी दिएका थिए ।त्यस्तै विक्रम सिंह धामीको सभापतित्वमा गठन भएको सुदूरपश्चिम प्रदेश सभा नियमावली २०८० को मस्यौदा पनि टेबल गरिएको छ ।भदौ ४ गते धामीको सभापतित्वमा मानबहादुर धामी, सुरेन्द्र पाल खुसीराम डगौरा थारु,प्रकाश रावल सदस्य खेमादेवी विष्ट तारा प्रसाद जोशी सदस्य रहने गरी प्रदेश सभा नियमावली संशोधन गर्न समिति तयार गरिएको थियो । ४ गते देखी ३० गते सम्म १५ वटा बैठक बसेर तयार गरिएको नियमावली संयोजक धामीले प्रदेश सभामा टेबल गरेका हुन् ।


