धनगढी। धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा यसवर्ष पनि ११ औं पटक श्रीमद भागवत महायज्ञ हुने भएको छ ।
शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाम ब्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै धाममा यसवर्ष फागुन २ गतेदेखि ८ गतेसम्म ७ दिनको श्रीमद भागवत प्रवचन, मत्स्यपुराण पारायण हुने जानकारी गराएको हो।
धाम ब्यवस्थापन समितिले हरेक वर्ष एउटै मिति अथवा फागुन २ गते देखि महायज्ञको आयोजना गर्दै आएको छ। धाम ब्यवस्थापन समितिका अध्यक्ष बल्देव प्रसाद भट्टले यसको जानकारी दिए । उनले महायज्ञमा श्रृगारिक महाआरती, हनुमान चालिसा हवनात्मक अनुुष्ठान, अष्ठचिरन्जीवि प्राण प्रतिष्ठा महायज्ञ हुने बताए। उनले १०८ शिवलिंग स्थापना संकल्प पनि हुने बताए ।
महायज्ञमा ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामीको प्रवचन, प्रखर पुराणबाचक पुराणोपासक आचार्य सत्यराज अवस्थीबाट संगीतमय प्रवचन, बैदिक कार्यहरु विवाह, ब्रतबन्ध, ८४ पुजा, गृहशान्ति, कालसर्पयोग निवारण जस्ता अनुुष्ठानहरु पनि हुने बताईएको छ। महायज्ञमा वाराणसीको गंगाघाट र पशुपतिनाथको गंगाघाटमा हुने संगीतमय आरती, पञ्चकुण्डमा हवन अनुुष्ठान, भगवान शंकरको रुद्राभीषेक हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।
धाम ब्यवस्थापन समितिका अध्यक्ष बल्देव प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धी बहादुर खडका प्रमुख अथिति रहेका थिए । उनले, धामका लागि वडाले गर्ने सहयोगमा पछि नहटने बताए । शिवपुरी धाम, लोकानन्द स्वामीको परिकल्पनाबाट २०७० साल देखि दाताहरुको दानबाट मात्र निर्माण भएको हो । धाममा करोडौंका संरचना दानदातब्यबाट निर्माण भएका छन। १०८ फिटको शिवलिंग धामको मुख्य आकर्षण हो ।पत्रकार सम्मेलनमा धाम ब्यवस्थापन समितिका उपाध्यक्ष शिद्धराज पनेरुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने पुराणोपासक आचार्य सत्यराज अवस्थीले पनि धामका बारेमा बताएका थिए । कार्यक्रमको सञ्चालन सचिव भीम कुवरले गरेका थिए ।