काठमाडौं। ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल गरिएको छ । बाँकी शाखा सम्बन्धित जिल्लाका सीडीओमार्फत सिल गर्न भनिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।
शाखा धेरै हुँदा समिति सबै ठाउँमा पुग्न सकेको छैन । गत भदौ २५ मा यो सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो। यसअघि नै बचकर्ताको अर्बौं फिर्ता गर्न नसकेर फरार सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई सीआईबीले पक्राउ गरेको थियो ।
समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले सबै डकुमेन्ट लुकाएपछि मात्र सरकारले समस्याग्रस्त घोषणा गर्दा आफूहरूलाई काम गर्न अप्ठ्यारो भएको बताए। उनी भन्छन्, ‘सहकारीमा समस्या आउनेवित्तिकै समस्याग्रस्त घोषणा गरेको भए बेलैमा कार्यालय सिल गरेर अध्ययन गर्न सकिन्थ्यो। तर, ढिला घोषणा हुँदा भएको कागजात सबै लुकाइसक्ने भएकाले अध्ययन गर्न समस्या भएको छ । हाडखोर मात्र अध्ययन गरेर नतिजा दिन गार्हो छ।’
भक्तपुरमा केन्द्रीय कार्यालय रहेको यो सहकारीका २८ हजार बचतकर्ताले ८ अर्ब बचत मागदाबी गरेका छन्। रकम मागदाबीका लागि गत माघ १८ गतेसम्मको समय दिइएको थियो । मागदाबीको समय थप हुने समितिले जनाएको छ ।नेपालभर शिव शिखरका १ लाख ६८ हजार ७२५ बचतकर्ता छन। बचतकर्ताको १० अर्ब २९ करोड २९ लाख २६ हजार रूपैयाँभन्दा बढी घोटाला गरेको बताइएको छ । एक दशकअघिदेखि खुलेको यो सहकारीले अरु भन्दा बढी व्याज दिएर निक्षेप तानेको थियो।
रकम नतिरेपछि शिव शिखरको विद्युतीय अभिलेख हेरिरहेको इन्फो डेभलपरले सफ्टवेयर बन्द गरिदिएको छ। सफ्वेयर नै बन्द हुँदा सहकारीको अवस्था, त्यहाँ रहेको बचत तथा ऋणको विवरण प्राप्त गर्न कठिन भएको समितिले जनाएको छ । सफ्टवेयर खुलाइदिन डेभलपरलाई पत्र पठाइएको पौडेलले बताए। शिखर अर्गनाइजेन लिमिटेड मातहत ३० वटा कम्पनी सञ्चालनमा छन् ।
उपकार मिडिया, गोरखा टी एण्ड कफी, ब्रिटिस गोर्खा गोल्डेन प्रालि, गोरखा बेभरेज, गोरखा शप एण्ड केमिकल इन्डस्ट्रिज प्रालि, पेट्रोल पम्प, गार्डेन मार्ट र उद्योग खोल्न भन्दै जग्गा खरिद गर्ने तथा लगानी गरेर बचतकर्ताको रकम हिनामिना गरेको सीआईबीको निष्कर्ष छ । सरकारले हालसम्म हाम्रो नयाँ कृषि सहकारीसहित १६ सहकारी समस्याग्रस्त घोषणा गरेको छ । जसमा स्ट्याण्डर्ड मल्टिपर्पोज, कुबेर बचत र चार्टड सेभिङको मागदाबी भएको सम्पूर्ण बचतकर्ताको दाबी भुक्तानी भइसकेको छ । सोसाइटी बचत, लुनिभा बहुउद्देश्यीय सहकारीको कार्य अन्तिम चरणमा पुगेको छ । अन्यको हकमा भने सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक तथा कर्मचारीको सम्पत्ति रोक्का गरेर लिलामको प्रक्रिया अघि बढाइएको छ ।


