काठमाडौँ। बहुमतबाट माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चयन भएका मानबहादुर धामीले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताएका छन्।
शुक्रबार बसेको संसदीय दलको बैठकले नेता खगराज भट्टलाई हटाएर धामी दलको नेता चयन भएका हुन्। कुराकानी गर्दै धामीले भने ‘बहुमतबाट निर्णय भएपनि तत्काल हामी मन्त्रिपरिषद् पुनर्गठन वा सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउँदैनौँ। नेता परिवर्तन भएपनि संसदीय दलमा सबैलाई मिलाएर लैजान्छु’।
प्रमुख सचेतक समेत रहेका धामीलाई उपनेता अक्कलबहादुर रावल, राज्यमन्त्री गीता माल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विकले समर्थन गरेका थिए । प्रदेशसभा सभामुखसहित माओवादीका १० जना सांसद रहेका छन् । तीमध्ये भट्टसहित सरकारमा सहभागी मन्त्रीहरू सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सांसद जानकीदेवी कुँवर अनुपस्थित रहेका थिए ।
दलको निर्णय पार्टी कमिटीलाई समेत जानकारी गराइसेको धामीले बताए। यसअघि धामीले प्रदेशसभामा दोस्रो ठुलो दल हुँदासमेत संसदीय दलका नेता भट्टले कांग्रेससाम निरीहता देखाएको आरोप लगाएका थिए। सरकारमा सहभागी मन्त्रीहरू तत्काल फिर्ता बोलाए समस्या समाधान हुनसक्ने धामीले बताएका थिए।
सरकारको काम कारबाही पारदर्शी नभएको, जबाफदेहिता नभएको, कांग्रेसले सिङ्गो पार्टी सिस्टम जस्तो गरी सरकार चलाएको, माओवादीका मन्त्रीहरू निरीह भएको लगायत आरोप लगाउँदै सरकारबाट मन्त्री फिर्ता र संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने माग दाबीसहित प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकलम दाहाललाई धामी लगायतका नेताहरुले पत्र नै बुझाएका थिए। त्यसपछि अध्यक्ष प्रचण्डले ग्रिन सिग्नल दिएपछि सुदूरपश्चिम माओवादी संसदीय दलको नेता परिवर्तन भएको माओवादी नेता कार्यकर्ताहरुको बुझाइ छ।


