काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला हारको ह्याट्रिकबाट जोगिएका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मतगणनामा उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभाको यात्रा सुरक्षित गरेका हुन् ।
तर, निर्वाचनको मतगणना रोचक हुन पुग्यो । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको मत पाएका थिए । अर्थात गठबन्धनबाट पाउनुपर्ने मत उनले पाएका थिएनन् । तर, स्थानीय तहतर्फ भने उनले सोचेअनुसार मत पाएपछि सकारात्मक नतिजा प्राप्त भयो ।स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए । यस्तै एमालेका पर्शुराम अधिकारीले ५ जनाको मत पाए ।
यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि अधिकारीले प्रदेशतर्फ १ मत पाएका थिए । नतिजाअनुसार विजयी सिटौलाले कुल ५२९२ मतभार प्राप्त गरे भने पौडेलले ४५६२ मतभार प्राप्त गरे । यस्तै अधिकारीले १४८ मतभार प्राप्त गरे ।लगातार २०७४ र २०७९ को निर्वाचनमा पराजित बनेका सिटौला बिहीबार सम्पन्न निर्वाचनमा भने विजयी भएसँगै अब उनलाई राष्ट्रियसभा अध्यक्षको प्रमुख दाबेदारको रूपमा समेत हेरिएको छ ।
सिटौला २०७४ सालको निर्वाचनमा राप्रपाका तत्कालीन महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित बनेका थिए । तत्कालीन नेकपा गठबन्धनसँग तालमेल गरेर लिङ्देनले आफ्नो पक्षमा निर्वाचन पर्दा सिटौलाले भने हारको स्वाद चाखेका थिए ।
२०७४ मा झापा–३ मा लिङ्देनका लागि वाम गठबन्धनको साथ लिएर राप्रपाले झापा ५ मा केपी ओलीलाई सघाएको थियो । त्यतिबेला लिङ्देन ४४ हजार ६१४ मतका साथ विजयी हुँदा सिटौलाले ३१ हजार १७१ मत पाए । पाँच वर्षपछि झापा ३ मा फेरि सिटौला र लिङ्देन चुनावी प्रतिस्पर्धामा हुँदा सिटौला फेरि पराजित बनेका थिए। लिङ्देन ४० हजार ६६२ मतका साथ विजयी हुँदा सिटौलाले सत्ता कांग्रेस–माओवादीसहितको गठबन्धन हुँदा पनि ३७ हजार ३८६ मत पाएर पराजय भोगेका थिए।
दोस्रो पटक लिङ्देनले जित्दा पनि एमालेले उनलाई सहयोग गरेको थियो।२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने लिङ्देन सिटौलासँग पराजित भएका थिए । सिटौलाले १४ हजार ३५५ मत ल्याएर सांसद निर्वाचित हुँदा लिङ्देन दोस्रो भएका थिए। यसअघि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने लिङ्देनले उम्मेदवारी दिएका थिएनन् । तर, सिटौला झापा–३ मा माओवादी नेता पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए ।


