धनगढी। नागरिक उन्मुक्ति पार्टीको जारी महाधिवेशनमा आज शुक्रबार नयाँ नेतृत्वको चयन प्रक्रिया सुरु हुँदैछ । कैलालीको टीकापुरमा हिजो बिहीबारदेखि सुरु भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने बताइएको छ।
उद्घाटन सत्रपछि गए राति नै बन्दसत्र पनि सम्पन्न गरिएको छ।हिजो रातिबाट सुरू बन्द सत्र बिहान ५ बजे सकिएको थियो । त्यसपछि सहमतिको प्रयास गरिए पनि केही पदमा आकांक्षी बढी देखिएका छन् । निर्वाचन तालिकाअनुसार अहिले मतदाता नामावली प्रकाशित गरिएको छ।
सर्वसम्मतको प्रयास जारी नै राखेर निर्वाचन प्रक्रिया सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत सरोज बुढाथोकीले जानकारी दिए ।छुटेका मतदाताको नामावली उल्लेख गर्ने र उजुरीको समय ११ बजे सम्मलाई तोकिएको थियो । सवा ११ सम्म छानबिन र कारबाही गर्नै र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने, १२ बजेदेखि उम्मेदवारी दर्ता , सवा १२ मा उम्मेदवारहरूको सूची प्रकाशन गरिने छ ।उम्मेदवारी फिर्ता लिने र निर्विरोध भए १ बजे घोषणा गर्ने साथै एकभन्दा बढी उम्मेदवारीमा पौने २ बाट मतदानको समय तोकिएको छ।
नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमलाल चौधरी दम्पति आकांक्षी छन्। पार्टीका संरक्षक रहेका रेशम चौधरी पार्टी अध्यक्ष बन्ने गरी अघि बढेका छन्। टीकापुर नरसंहारमा दोषी ठहर भएर चौधरी जेल रहेका बेला पत्नी रञ्जिता अध्यक्षतामा उन्मुक्ति पार्टी खोलिएको थियो। राष्ट्रपतिबाट बाँकी सजाय मिनाह पाएर जेलमुक्त भएका चौधरी अहिले खुला राजनीतिमा सक्रिय छन्। उनले महाधिवेशन सम्मका लागि पार्टीको कार्यकारी अधिकार लिएर देश दौडाहा नै गरेका थिए।
चौधरीले पाएको सजाय माफीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ। हालकी अध्यक्ष चौधरी पत्नी रञ्जिता पनि अध्यक्षमै दोहोरिन चाहन्छिन्। नयाँ नेतृत्व चयनका लागि छलफल जारी रहेको सो पार्टीले जनाएको। नेतृत्व चयनका लागि चुनाव हुने सम्भावना कम रहेको नेताहरुको भनाइ छ। ‘अध्यक्षमा दुई जना देखिनु भएको छ। नेतृत्व चयनका लागि छलफल चलिरहेको छ,’ नेतृ इन्दिरा गिरीले भनिन्, ‘सर्वसहमतिमा नेतृत्व टुंगिन्छ।’वर्तमान अध्यक्ष रञ्जिता पनि अध्यक्षमै दोहोरिन चाहेपछि उनलाई मनाउने प्रयास भइरहेको नेताहरुको भनाई छ । सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुबीच छलफल भइरहेको बताइएको छ।


