धनगढी। धनगढी वडा नम्बर १२ की दिवंगत उसु खेलाडी निता खड्काको परिवारलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य एकेन्द्र कुँवरले सहयोग गरेका छन्।
गत पुस १४ गते मकवानपुरको हेटौडामा सम्पन्न प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्कने क्रममा दुर्घटनामा परि निधन भएकी उसु खेलाडीको परिवारलाई (राखेप)का सदस्य कुँवरले आर्थिक सहयोग गरेका हुन्। धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित खड्काको घरमा पुग्दै परिवारजनलाई भेटेका कुँवरले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नुका साथै राखेपबाट पनि सहयोग उपलब्ध गराउँने प्रतिबद्धता जनाएका छन्।
प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको सुदूरपश्चिमका उसु खेलाडीहरुको गाडीलाई ट्रकले ठक्कर दिँदा खड्काको निधन हुनुका साथै ११ जना खेलाडीहरु घाइते भएका थिए । ट्रकको ठक्करबाट घाईते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । हेटौडामा सम्पन्न अन्तर प्रदेश उसु प्रतियोगितामा खड्काले स्वर्ण पदक जितेकी थिइन्। स्वर्ण पदक जितेको खुशी परिवारसँग बाड्न नपाई दुर्घटना परि उनको निधन भएको हो ।