धनगढी। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट गठबन्धन दलले उम्मेदवार टुङ्गो लगाएसँगै उमेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गठबन्धनतर्फ काँग्रेस कैलालीका सभापती समेत रहेका नारायणदत्त भट्ट र कञ्चनपुरका पूर्व सभापति बलदेव बोहरा,नेकपा माओवादी केन्द्र (महिला)बैतडीकी रेणु चन्दलाई उमेदवार बनाएको हो। गठबन्धनबाट उम्मेवार बनाएसँगै आज सोमबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। भट्ट २०६२/६३ सालको जनआन्दोलनमा घाईते भएका थिए।
बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति, २०६४ सालमा संविधान सभा सदस्य हुन र यस्तै माओवादी केन्द्रकी चन्द पुर्व संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य हुन। माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार हिजो (आइतबार) सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको थियो। सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन्।


