धनगढी। सिर्जनशील गडसेरी समाज धनगढीले सुदूरपश्चिमको मौलिक पर्व “पुसे १५“ को अवसर पारेर भेटघाट कार्यक्रम गर्दै पर्व मनाएको छ। पुसे १५ को अवसर पारेर गडसेरी समाजले धनगढी उपमहानगरपालिका ७ जाख्खोर ताल परिसरमा कार्यक्रम आयोजना गर्दै पर्व मनाएको हो।
गडसेरी समाजका अध्यक्ष भोज बहादुर शाहले पुर्ख्यौली घर डोटीको गडसेरा घर भई हाल कैलालीमा बसोबास गर्ने गडसेरीबिच भेटघाट र परिचयात्मक गर्ने उद्देश्यले प्रत्येक वर्ष “पुसे १५“ विशेष मनाइँदै आइरहेको बताए। यस पटक पनि पुसे १५ को अवसर पारेर शुभकामना आदानप्रदान, परिचयात्मक कार्यक्रम/भेटघाट, देउडा खेल, एकल गायन, बातै हाल्ने कार्यक्रम/ राउनेइ बातै (उखान टुक्का) बालबालिकाका नृत्य,विभिन्न आकर्षक मनोरञ्जनात्मक खेलहरू प्रस्तुत गरिएको समाजका अध्यक्ष शाहले बताए।
यस्तो किसिमको कार्यक्रमले गडसेराबासीको प्रगति र एकताका लागी अझ सुदृढीकरण हुनुका साथै भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास लिएका छन्। कार्यक्रममा गडसेरी समाजका सुभाष चन्द्र भण्डारीले पुर्खौँ देखी चलिआएको मौलिक पर्व “पुसे १५“लाई जोगाउन र नयाँ पुस्तालाई पर्वबारे जानकारी गराउन पुस १५ विशेष कार्यक्रम गरिँदै आएको जानकारी दिए। जसरी हाम्रा बुबा बाजे देखी लिएर पुर्खाहरू पहाडमा “पुसे १५“मा बातै/ राउनेइ बातै (उखान टुक्का) हाल्छन्, उनले भने, मौलिक परिकार, माडा खाने, तरुल खाने, रमाइलो, नाचगान गर्छन्।
यसरी नै मौलिक संस्कृति चालचलनलाई जोर्गेना गर्दै पुस्तान्तरणमा बिस्तार गर्ने उद्देश्य हो उनले भने। यस्तै गडसेरी समाज विभिन्न रचनात्मक सामाजिक क्रियाकलापमा अग्रसर हुँदै आइरहेको गडसेरी समाजका भण्डारीले बताएका छन्। गडसेरीलाई सङ्कट या सुख–दुख पर्दा एक अर्कालाई साथ दिने उदाहरणीय समाज रूपमा विकास भइरहेको समेत बताएका छन्। कार्यक्रममा विभिन्न गडसेराबासीको सहभागिता रहेको थियो।फोटोफिचर हेर्नुहोस् तल




