काठमाडौँ । हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिका–११ दुधेका ४५ वर्षका मेघराज राईको ज्यान गएको छ । गए राति हात्तीले घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार झापामा डेढ महिनामा हात्तीको आक्रमणबाट राईसहित चार जनाको ज्यान गएको छ । पुसको ४ गते हल्दीबारी गाउँपालिका–२ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको ज्यान गएको थियो ।
यस्तै मङ्सिर १५ गते हल्दीबारी–३ रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन र त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका–२ को बेलडाँगी शिविरका पदमलाल तामाङको हात्तीको आक्रमणमा परेर ज्यान गएको थियो ।झापासहित मोरङ, सुनसरीमा हात्तीको आतङ्क बढेको छ । यी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको हो ।


