कैलाली। कैलालीको टीकापुर आयुर्वेद औषधालयमा औषधी अभाव भएको छ। औषधालयमा दैनिक आउने बाथरोग, ग्याष्ट्रिक, पायल्स जस्ता रोगका बिरामीका लागि आवश्यक औषधिको अभाव भएको हो ।
टीकापुर नगरपालिका–५ का ६५ वर्षीय भीमबहादुर चौधरीले आफू दुईपटक आउँदा समेत बाथरोगको औषधि नपाएर फर्किनु परेको गुनासो गरे। टीकापुर-१ का सूर्यजंग शाहीले ग्याष्ट्रिकको औषधी नियमित खाने गरेकोमा दश दिनयता औषधी नै नपाएको बताए।
औषधालयका प्रमुख कविराज निरीक्षक अशोककुमार मिश्रले गत वर्षको तुलनामा बिरामीको संख्या बढ्दा केही दिनयता औषधीको अभाव देखिएको बताए। उनले औषधालय र नगरपालिकाले औषधी खरिदका लागि कोटेसनको प्रक्रिया अघि बढाइसकेको र दश दिनभित्रमा औषधालयमा पर्याप्त मात्रामा औषधी आइपुग्ने बताए।


