धनगढी। सुदुरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएको करिब १ बर्ष पुग्दै छ । गत २०७९ मंसिर ३ गते भएको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले पुस १५ गते पद तथा गोपनियताको सपथ लिएका थिए।
यो पछिल्लो एक बर्षमा निर्वाचित प्रदेशसभा सदस्यहरुले जनतामाझ गरेका बाचा होस् या कानुन निर्माण गर्ने कुरामा ध्यान जान सकेको छैन् । झन् प्रदेश सभाको बैठक नबसेको महिनौँ भैसकेको छ ।
मुख्यमन्त्रीको बिश्वासको मत सम्बन्धी र सभामुख/उप सभामुखको निर्वाचन तथा बजेट सम्बन्धी अनिवार्य बनाउनैपर्ने कानुनबाहेक प्रदेशसभाले १ बर्षसम्म अरु कुनै कानुन बनाउन सकेको छैन।
देश संघीयतामा गएसँगै आगनमै प्रदेश सरकार पाएपछि नयाँ उत्साह र उल्लास देखिएको थियो। तर, प्रदेश सरकारको पहिलो ५ वर्षे कार्यकालमा अपेक्षा बमोजिम सरकारबाट विकासका काम हुन नसकेपछि उत्साहित बन्न नसकेका जनता पछिल्लो प्रदेश सरकारको एक वर्ष पनि उत्साहित हुन सकेका छैनन् । केन्द्रीकृत राज्यले उपेक्षा गरेका कारण गरिबी, बेरोजगारी र पछौटेपनमा पिल्सिनुपरेको प्रदेशबासीको पिडा छ । ६ महिनासम्म सरकार बिस्तारमा र पूर्णता दिनमै प्रदेश सरकार बेस्त भएको देखीन्छ।
यता प्रदेश सभा अस्तव्यस्त भैरहँदा सभामुख सहित लेखा समिति भ्रमणमा रहेका छन् ।एक साताको लागि सभामुख भीम भण्डारी सहित समिति मधेस प्रदेश र कोशी प्रदेशमा भ्रमणमा ब्यस्त रहेका छन् । भ्रमण टोलीमा सभामुख भण्डारी सहित समितिको ज्येष्ठ सदस्य विक्रम धामी, सदस्यहरू सन्तोष कुमारी थापा,टिका थापा, मधुदेवी भारती, बेलबहादुर रानामगर,गीता कुमारी चौधरी, खेमादेवी विष्ट र अक्कल रावल छन् । समितिका सदस्यहरू मध्ये मानबहादुर धामी र वीर बहादुर थापा पाताल भ्रमणमा गएनन् । सभामुख, समितिका ज्येष्ठ सदस्य सदस्य चालक, स्वकीय सचिव निजी सुरक्षाकर्मी सहित करिब २ दर्जन एक साताको लागि भ्रमणमा निस्किएका हुन् ।
प्रदेश सरकार भएकोसम्म आभास नहुनेगरी प्रदेश सरकार कामविहीन देखिएको भन्दै स्थानीयमा निराशा समेत बढेको छ। अर्को तिर देखिनेगरी एउटा पनि काम र योजना नल्याएको सरकारले बिजनेस दिन नसक्दा प्रदेशसभा पनि प्रभावहिन भएको छ भने प्रदेशसभा सदस्य पनि फुर्सदिला बनेका छन्। सत्तापक्षकै सासंदहरू सरकारले बिजनेस दिन नसकेको भन्दै असन्तुष्ट छन्। एक वर्षमा प्रदेश सरकारले बजेट र नीति कार्यक्रमबाहेक कानुन बनाउन एक पनि विधेयक प्रदेशसभामा प्रस्तुत गर्न सकेको छैन।
तर, भ्रष्टाचार, घुसखोरी र कमिसन भने बढेको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक हेमराज पन्तले बताए । प्रदेश सरकारले आर्थिक विकासका कुनै योजना ल्याउन नसकेको,पाँच वर्षे कार्यकालका लागि रोजगारी सिर्जना गर्ने,औद्योगीकरण, विकास लगायतका केही काम पनि यो एक वर्षमा सुरु गरेको नदेखिएको उनले बताए। प्रदेश सरकारले काम नगर्दा जनतामा निराशा बढेको र भ्रष्टाचार पहिलेभन्दा अझ बढेको उनको भनाई छ।
यस्तै सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट लागु गर्न नसकेको र बजेट खर्च नै गर्न नसकेको उनले बताए । प्रदेश सरकारले आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगततर्फ पाँच प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ। यसैगरी, प्रदेशसभा सदस्य तारा जोशीले प्रदेश सरकार गृह कार्य कुरेर बसेको विद्यार्थीजस्तो पूरै अलमलमा रहेको बताएका छन् । प्रदेश सरकार अलमलबाट मुक्त हुन सक्ने नदेखीएको र योजना, धारणा नभएको अकर्मण्य सरकार जस्तो रहेको उनको भनाई छ।
प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु तलब खान र भ्रमण गर्नमा मात्र ध्यान गइरहेको उनले भने । बैठक सञ्चालन देखी के कसरी काम गर्ने र योजना लागु कसरी गर्ने भन्ने चिन्ता नै नभएको उनको भनाई छ ।
धारा १६८ को ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले नेपाली काग्रेस संसदीय दलका नेता कमल बहादुर शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २७ मा काग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिलामन्त्री बनाएका मुख्यमन्त्री शाहलाई सरकारलाई पूर्णता दिन भने निकै सकस प¥यो।
६ महिनापछि गत साउन १७ गते मात्र सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पायो। सरकारलाई समर्थन जनाए पनि भागबन्डा नमिल्दा सरकारबाहिर रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी भयो। काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी छ। प्रदेश सरकारले पूर्णता पाएपछि विकासका कामले गति लिने धेरैको अपेक्षा थियो। तर, सरकारले पूर्णता पाएपछि पनि प्रदेश सरकारले कुनै ठोस काम गर्नतिर ध्यान नदिएको सत्तापक्षकै सासंदहरू बताउँछन्।
मुख्यमन्त्री र मन्त्रीहरू फुर्सदिला देखिन्छन्।सामान्य पसल उद्घाटन गर्न बोलाउँदा पनि खुशी भएर सहभागी हुने स्थानीय बताउँछन्। काठमाण्डौँलगायत विभिन्न ठाउँ भ्रमण गरेर समय खर्चिरहेका हुन्छन्। प्रदेश सरकारले एक बर्षको अवधीमा नीती तथा कार्यक्रम र बजेट बाहेक नयाँ कानुन बनाउन एउटा पनि बिधेयक प्रदेश शभामा प्रस्तुत गर्न सकेको छैन। प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले बजेट र निती तथा कार्यक्रमबाहेक नयाँ विधेयक प्रदेशसभामा प्रस्तुत नभएको बताए। एक वर्षको अवधीमा एउटा पनि कानुन बनेको छैन। दुई तिन बिधेयक शंसोधन गर्ने मात्र काम भएको उनले बताए। सरकारले एक वर्षमा बिजिनेस नदिँदा प्रदेशसभा बैठक पनि कामविहीनजस्तै बनेको छ।


