कञ्चनपुर। भारतको कर्णप्रयागमा ज्याला मजदुरी गर्दै आएका सुर्खेतको बराह ताल गाउँपालिका–६ का ३७ वर्षीय विष्णु विक हरिद्वारमा लुटिएका छन् । उनी मङ्सिर ३० गते कर्णप्रयागबाट घर जान भनी आएका उनी सोही दिन पुस १ गते हरिद्वार पुगे।
मजदुरी गरेर घर फर्किन लागेका उनी भारत उत्तराखण्डको हरिद्वारस्थित बसपार्कमा झर्ने बित्तिकै ३ जना सुर्खेत घर बताउने नेपालीले नै बेहोस बनाएर आफूलाई लुटेको उनी बताउँछन्। हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनी मङ्गलवार गड्डाचौकी नाकामा पुगेका हुन् । उनले भने, हरिद्वारस्थित ‘बसर्पाकमा झर्ने बित्तिकै तीन जना नेपाली आए, हाम्रो घर पनि सुर्खेत नै हो, सँगै जाउँला भने,’ मङ्गलवार बिहान गड्डाचौकी पुगेका विकले भने, ‘चिसो पिउँ भनेर ड्यु ल्याए, चारैले सँगै पियौँ, म त एकै छिनमा बेहोस भएछु ।’ दोस्रो दिन होसमा आउँदा मोबाइल, झोला र पैसा केही नभेटिएको उनले बताए ।
कर्णप्रयागमा ज्याला मजदुरी गरेर कमाएका २५ हजार भारु लुटिएको उनले बताए । एक थान मोबाइल र लुगा कपडा सबै लुटेको उनले बताए । हरिद्वार बसपार्कमा प्रहरीसँग सहयोग मागेर बनबासासम्म आएको उनले बताए । मङ्गलवार बिहान गड्डाचौकी पुगेका विकलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने व्यवस्था गरेका छन् । उनलाई बाटो खर्च र टिकट दिएर घर पठाएको हो। यसअघि गत कात्तिकमा भारतमा मजदुरी गरेर घर फर्किरहेका कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका थिए।
कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले ६ महिना मजदुरी गरेर ल्याएको १ लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिका थिए । चिसो पेय पदार्थ खुवाएर लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्धार गरेर बन बासासम्म पुर्याएका थिए। यस्तै गत कात्तिकमा भारतबाट घर फर्किरहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘च’ गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ लुटिएका हुन्।
सुशान्तको ४० हजार भारु,लुगा कपडा र मोबाइल तथा दिनेशबाट पनि ५० हजार भारु, लुगा कपडा र मोबाइल लुटिएको हो। एक जना नेपालीले चिया पिउन होटेलमा लगेर चिया बिस्कुट खाएको केही बेरमै दुवै जना बेहोस भएका थिए । हरिद्वारमै लुटिएका उनीहरू पनि अलपत्र अवस्थामा गड्डाचौकी पुगेका थिए। जसोतसो गड्डाचौकी पुगेका उनीहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च दिएर पठाएको थियो।
त्यस्तै भारतबाट मजदुरी गरेर घर फर्किन लागेका नेपाली कामदार पनि बाटोमै लुटिने गरेका नागरिक सहायता कक्षका कर्मचारी नासु दानसिंह बोहराले बताए।त्यस्तै समाजसेवी भोजराज जोशीले बिचबाटोमा लुटिएकाहरुको आफुले सहयोग गरेको बताएका छन् । उनले भारतको हरिद्धारमा लुटिएहरुको सिमानाकासम्म ल्याउन र नेपाल पुगीसकेपछि घरसम्म जानका लागी सहयोग गरिएको बताएका छन् । करिब दुई महिनाको अवधिमा भारतबाट घर फर्किने क्रममा ११ जना नेपाली लुटिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले सिमानाकामा स्थापना गरेको नागरिक सहायता कक्ष अनुसार दसैँयता भारतबाट घर फर्किने क्रममा ११ जना लुटिएका छन् । जसमध्ये १० जना हरिद्वारमै लुटिएका हुन् । लुटिएकाहरू नागरिक सहायता कक्षको सम्पर्कमा आएकाहरूको सङ्ख्या हो यो । भारतबाट घर फर्किने क्रममा कामदारहरूलाई पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ लुट्ने गरिएको पीडितहरूले बताएका छन् ।


