पोखरा। भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगा पोखरा ल्याइएको छ। शुक्रबार राति नेपालगञ्जको जमुनाह नाका,बुटवल हुँदै पोखरा ल्याइएका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा राखिएको छ।भारतले दिएको १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो।
पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको थियो । पोखरा ल्याइएका राँगाको बिर्य संकलन गर्नुअगाडि क्वारेन्टिनमा राखिने प्रजनन कार्यालय पोखरा प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए। प्रमुख डा.पाण्डेयले यहाँ ल्याइएका राँगालाई पहिलो चरणमा २१ दिन क्वारेन्टिनमा राखेर त्यसपछिमात्रै विर्य संकलनका लागि तयार हुने बताए।
गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल-भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो। सोहीअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो। नेपाल-भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारीअनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा बुधबार नेपाल भित्रिएका हुन् । नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा पोखरासहित नेपालगञ्जमा ३ वटा र लहानमा ३ वटा राखिएको छ।
भारतीय सेन्ट्रल इन्स्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैंसीको जात विश्वमै उन्नत मध्येको एक मानिन्छ। भारतको हरियाणामा रैथाने प्रजातिलाई अनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादन विकासका लागि सबैभन्दा राम्रो मानिन्छ । कार्यालय प्रमुख पाण्डेयका अनुसार शुक्रबार राति आएका मुर्रा प्रजाति पोखराका लागि नयाँ भने होइनन् । यसअघि नै पोखरामा ९ वटा मुर्रा राँगा छन् । अहिलेका सरकारी तवरबाटै पहल गरेर आएको पहिलो पटक रहेको पाण्डेयले बताए।
पाण्डेयका अनुसार हालै आएका मुर्रा राँगा भने अघिल्लाभन्दा पनि बढी उत्पादन क्षमताका रहेको बताए। अहिलेको ३ हजारदेखि ४५ सय लिटरसम्म दूध दिने क्षमताका मुर्रा सन्तान हुन् । यसअघि पनि यही उन्नत जातको मुर्रा पोखरा ल्याउन पटकपटक प्रयास गर्दा पनि असफल भएको पाण्डेयको भनाई छ । केही समयअघि पोखरामा कोरियन उन्नत जातका साँढे पोखरा ल्याइएको थियो । कोरियाबाट ल्याइएका उन्नत जातका १५ वटा गाईमा ६ वटा बाच्छा छन् भने ९ वटा बाच्छी छन्। हाल नेपालका ७० जिल्लामा कृत्रिम पशु गर्भाधान सेवा उपलब्ध हुँदै आएको छ। ती जिल्लाबाट वार्षिक करिब ९ लाख संख्यामा कृत्रिम गर्भाधान हुँदै आएको छ ।राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरा प्रमुख डा पाण्डेयका अनुसार पोखराबाटमात्रै वार्षिक २० हजारभन्दा धेरैको संख्यामा कृत्रिम गर्भाधान सेवा दिइँदै आइएको छ।


