काठमाडौँ। कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय मानवीयताका आधारमा युद्धविराम गर्न सहमत भएका छन्। सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ।
कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको समय २४ घण्टाभित्र घोषणा हुने जनाएको छ। सुरुमा ४ दिन युद्ध रोक्ने सहमति भए पनि त्यो लम्बिन सक्ने कतारी विदेश मन्त्रालयले जनाएको छ । सुरुमा बालबालिका र महिलासमेत गरी हमासले ५० जना बन्धक र इजरायलले इजरायली जेलमा रहेका महिला र बालबालिका छाड्ने सहमति भएको कतारले जनाएको छ।
कतारले दुई पक्षबीचको द्वन्द्व रोक्न, मानवीय क्षति कम गर्न कूटनीतिक प्रयास जारी रहेको र यसमा आफू प्रतिबद्ध रहेको पनि जनाएको छ। इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको हो । इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ। कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो। सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए।
त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो। सीएनएनका अनुसार पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ । हमासले पनि टेलिग्राममा बयान जारी गर्दै मानवीय आधारमा युद्धविरामका लागि सहमति भएको जनाएको छ। हमासले इजिप्ट र कतारलाई मध्यस्थताका लागि धन्यवादसमेत दिएको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सबै जना बन्धक सुरक्षित रूपमा घर फर्किएपछि पुनस् हमासविरुद्धको कारबाही सुरु हुने बताएका छन्।
बन्धक बनाइएकाहरूको घरफिर्ती आफूहरूको ठूलो लक्ष्यु भए पनि पूर्ण रूपमा जित हात नपारेसम्म हमासविरुद्धको कारबाही जारी रहने उनको भनाइ छ। हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ । जसमा नेपालका विद्यार्थी विपिन जोशीसमेत रहेका छन्। इजरायली सुरक्षा फौजले जोशी हमासको कब्जामा गाजामा रहेको दाबी गरेको छ। जोशी र अर्का एक थाई नागरिकलाई हमासले उपचारका लागि अस्पतालमा लैजाँदै गरेको भिडियो उसले सार्वजनिक समेत गरेको छ।
तर उक्त भिडियोको स्वतन्त्र पुष्टि भने भएको छैन।गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ। हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ। त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन्।


