काठमाडौं। तिहारको भाइटीकाको दिन २९ कात्तिकमा भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठायो। निगम स्रोतका अनुसार यस पटक डिजेलको मूल्य लिटरमै ७ रुपैयाँ हाराहारीले घटेर आएको छ। पेट्रोल,मट्टितेल,हवाइ इन्धनको मूल्य पनि केही मात्रामा घटेको छ।
नेपाल भारत पेट्रोलियम व्यापार सम्झौताअनुसार भारतीय कम्पनी इन्डियन आयल कर्पोरेसन (आईओसी) ले हरेक अंग्रेजी महिनाको १ र १५ तारेखमा इन्धनको नयाँ मूल्य आयल निगमलाई पठाउँछ। खाना पकाउने ग्यासको मूल्य भने हरेक महिनाको १ तारेखमा पठाउँछ। भारतबाट आएको नयाँ मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार त्यसै दिन वा भोलिपल्टदेखि लागू हुने गरी नेपालभर इन्धनको उपभोक्ता मुल्य निर्धारण गर्छ।
तर यसपटक भारतबाट नयाँ मूल्य आएको ५दिन बित्दा पनि निगमले मूल्य समायोजन गरेको छैन। भारतबाट इन्धनको मूल्य घटेर आएको बिक्रेताले पनि थाहा पाइसकेका छन्। त्यसैले निगमले जुनसुकै बेला मूल्य घटाउन सक्ने आशंका गर्दै उनीहरु थोरै मात्रामा इन्धन खरिद गरेर बिक्री गरिरहेका छन्। जसका कारण कैलाली,पोखरा,धादिङ,नुवाकोट लगायतका क्षेत्रमा इन्धनको आंशिक अभाव देखिएको छ।
मूल्य समायोजन नहुँदा उपभोक्ता भने महंगोमा मूल्यमा इन्धन खरिद गर्न बाध्य छन्।आयल निगमको तालुक मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका मन्त्री रमेश रिजालले मूल्य समायोजनबारे निगमको तयारीबारे आफूलाई जानकारी नभएको बताए। तिहार बिदाका कारण आफू उपत्यका बाहिर रहेको भन्दै मन्त्री रिजालले भने, ‘घट्यो होला भनेको घटेको रहेनछ। म अब बुझ्छु।’


