बाँके। बाँकेमा केही दिनअघि घर फोडेर लगेको सामान चोरले घर धनिकै आँगनमा लगेर राखिदिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरी भएको थियो ।
सोही तिलहरी र केही नगद रुपियाँ गएराति घर धनिकै आँगनमा लगेर राखिछाडेको भेटिएको बुद्धबीर वलीका छोरा प्रेम वलीले जानकारी दिए।नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीकोमा उजुरी दिएको उनले जानकारी दिए।
“घरमा भएको तिलहरी र नगद पैसा चोरी भएपछि हामीले प्रहरीकोमा उजुरी निवेदन दिएका थियौँ” उनले भने, “मङ्गलबार राति चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले शुक्रबार राति तिलहरी र २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएछ, बाँकी पैसा पनि फिर्ता गरिदिए हुन्थ्यो।” उनले भने। घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिएका थिए।


