काठमाडौं। मुगुको छायानाथ रारा नगरपालिका–६,मन्दु गाउँमा एकैपरिवारका चार जनाको हत्या भएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेर मुगुतर्फ लगेको प्रहरी उच्च स्रोतले बतायो। गएको १० कात्तिकमा मन्दु गाउँमा आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा भेटिएका थिए।
लगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मुगुसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पनि खटिएको थियो। त्यसक्रममा प्रहरीले हालै दुई जनालाई मृतकको घरबाट चोरी गरिएका सामग्रीसहित पक्राउ गरेको स्रोतले जनाएको छ । पक्राउ पर्नेमा गोर्खबहादुर शाही र गोपाल बोहोरा रहेको प्रहरीले जनाएको छ।
स्रोतका अनुसार, मृतकले प्रयोग गर्ने मोबाइलको मोबाइल, सीम कार्ड लगायत पनि बरामद भएको छ। घटनामा ज्यान गुमाउनेमा छायानाथ रारा-६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर थिए । हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत गायब भएको थियो।
सीआईबीका एक अधिकृत भन्छन्, ‘हालसम्मको अनुसन्धानले हत्यामा लुटपाट मात्रै कारण भएको देखाएको छ।’ पक्राउ परेकाहरुले अभियाग स्वीकार गरेको समेत प्रहरी अधिकृतहरुले बताएका छन्। पक्राउ परेकाहरुलाई शुक्रबार मुगुमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी तयारी छ। मृतक श्रीदेवी छोराछोरीसहित ७ कात्तिकमा दशैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन्। भोलिपल्ट घर फर्केका उनीहरूको सोही राति हत्या भएको आशंका गरिएको थियो ।
छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए। तर, १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरू खोजी गरेका थिए। त्यसक्रममा फेरि श्रीदेवी माइती गइन् कि भनेर माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले ढोका फोडेर हेरेका थिए। त्यसक्रममा चार जना मृत भेटिएपछि प्रहरीलाई खबर छिमेकीले खबर गरेका थिए। अनुसन्धानका क्रममा आरोपीहरुले हत्यापछि ताला लागेर भागेको बयान दिएको प्रहरी स्रोतले बताएको छ।


