कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा ४ सय विघामा लगाइएको धानबाली नष्ट भएपनि किसानले अझै राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन्। साउन अन्तिम साताको बाढीले डुबान भएको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा एकाएक धानबाली सुकेर नष्ट भएको थियो।
झण्डै ४ सय विघामा लगाइएको धानबाली नष्ट भएको क्षेत्रको पानीको नमुना परीक्षण गर्दा पानीमा केमिकल प्रमाणित भटिएको हो। बाढीले डुबान भएको क्षेत्र पुनर्वास नगरपालिका–५ को सिमरी र उद्री तथा वडा १० परासनमा एकाएक धान र उखु सुकेको थियो। सुगर मिल भएको क्षेत्र भन्दा माथि धानमा कुनै क्षति नपुगेकाले पनि कृषकदेखि प्राविधिकहरु मिलबाटै केमिकल बगेको हुन सक्ने अनुमान गरिरहेका छन्।
नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले भने,‘तर त्यो केमिकल कहाँबाट आएको भन्नेबारे अब छानविन गर्नुपर्ने हुन्छ।’ उनका अनुसार परीक्षण गरिएको पानीमा केमिकल अक्सिजन डिमाण्ड (सिओडी)र बायोकेमिकल अक्सिजन डिमाण्ड(बिओडी) को मात्रा भेटिएको हो। धान तथा उखु केमिकलका कारण नष्ट भएको पुष्टि भइसक्दा पनि किसानले कुनै राहत नपाएको उनीहरुले बताएका छन्। नगरपालिकाको कृषि शाखा प्रमुख शाहीले भने, धान र उखु नष्ट हुने केमिकल कहाँबाट आयो भन्ने खुल्न सकेको छैन।
किसानले भने नजिकै रहेको सुगर मिलबाटै केमिकल आएको दाबी गर्दै आएका छन्। ‘केमिकलले नष्ट भएको पुष्टि भयो, तर कहाँबाट आयो भन्ने पत्ता लागेन, ‘हामीले नगरपालिकामा छलफल गरेर यसको अनुसन्धान तथा छानबिनका लागि जिल्ला प्रशासनमा आग्रह गरेको बताए। नगरपालिकाले धानबाली नष्ट भएको क्षेत्रको पानीको नमुना संकलन गरी परीक्षणका लागि नार्कमा पठाएको थियो। नार्कमा परीक्षण हुन नसकेपछि निजी प्रयोगशालामा परीक्षण गरिएको हो। नगरपालिकाले साउन ३० र भदौ १ मा गरी दुई पटक नमुना संकलन गरेको थियो।
दुवै नमुनामा अक्सिजन डिमान्ड (सीओडी) र बायोकेमिकल अक्सिजन डिमान्ड (बीओडी) केमिकलको मात्रा भेटिएको हो। साउन ३० मा संकलित नमुनामा सीओडीको मात्रा १४४ मिलिग्राम प्रतिलिटर र बीओडीको मात्रा ५७ मिलिग्राम प्रतिलिटर भेटिएको शाहीले बताए । दोस्रो पटक चार दिनपछि भदौ १ मा संकलन गरिएको नमुनामा सीओडीको मात्रा ११ र बीओडीको मात्रा ४ मिलिग्राम प्रतिलिटर भेटिएको थियो। जिल्ला प्रशासनले पनि केन्द्रबाट विज्ञको टोली मगाउने निर्णय गरेको छ।
असोज २२ मा जिल्ला प्रशासनमा भएको छलफलमा उक्त निर्णय भएको शाहीले बताए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले धानबाली नष्ट हुनुको कारण पत्ता लागे पनि कारक पत्ता लाग्न नसकेकोे बताए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर कृषि मन्त्रालयमा छानबिनका लागि आग्रह गरिएको उनले बताए। स्थानीयले मिलबाटै केमिकल बगेर आएको भन्ने र मिलले हाम्रो होइन भनिरहेकाले छानबिनकालागि कृषि मन्त्रालय र गृह मन्त्रालयमा गुहारेको उनले बताए ।


