काठमाडौँ। भूकम्पबाट घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टरबाट उद्धार गरिएको छ। घाइते तथा कुरुवाहरूको प्रधानमन्त्री सवार हेलिकोप्टरमार्फत सुर्खेत लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्ड भूकम्पले केन्द्रबिन्दु बनाएको जाजरकोटको स्थलगत अवलोकनपछि रुकुम पश्चिमतर्फ लागेका छन्। प्रधानमन्त्री प्रचण्ड मेडिकल टिमसहित शनिवार बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन्। आफू प्रभावित क्षेत्रमा पुग्दा प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वागत नगर्न समेत भनेका छन्। गए राति गएको ६.४ म्याग्निच्युड कम्पनको भूकम्पबाट अहिले सम्म १३२ को मृत्यु र १४० घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।


