धनगढी। धनगढीमा लागुऔषध सेवन गरेर मोटरसाइकल चलाउने दुई जना पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी वडा नम्बर ११ का १९ वर्षीय अरुण गैराल र मोटरसाइकल पछाडि सवार सोही ठाउँका १९ वर्षीय मुकेश जोशी पक्राउ परेका हुन्।
उनीहरूलाई मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नम्बर १ वडा प्रहरी कार्यालय नजिकबाट पक्राउ गरिएको हो। सुदूरपश्चिम प्रदेश ०१–००९ प १२८० नम्बरको मोटरसाइकलमा सवार उनीहरुले चालक अनुमतीपत्र साथमा नराखी बिना हेल्मेट मोटरसाइकल चलाई रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीहरूको लागुऔषध सेवनको परीक्षण गर्दा दुबै जनाको रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको र प्रहरीको थुनुवा कक्षमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ।


