धनगढी : सरकारले दशैँ तिहारलाई लक्षित गर्दै सञ्चालन गरेका सुपथ मुल्य पसलमा चिनि अभाव भएको छ । सुदूरपश्चिममा रहेको दुई वटा चिनी मिलबाट वार्षिक पाँच हजार टन चिनी उत्पादन भइरहेको छ । आन्तरिक आपूर्ति तथा आयातबाट आपूर्ति हुने चिनीको परिमाण र मागको तुलना गर्दा वार्षिक झण्डै आठ देखि नौ हजार मेट्रिक टन चिनी अवैध रूपमा पैठारी भइरहेको भन्सारको तथ्यांकमा रहेको छ ।
साल्ट ट्ेरडिङ कर्पोरेशन धनगढी वितरण शाखाका अनुसार सुदूरपश्चिम प्रदेशको मागको ठूलो हिस्सा अवैध रूपमा भित्रिने चिनीले धान्ने गरेको छ । बैध रूपमा आयातित चिनीको मूल्य अहिलेको बजार मूल्यभन्दा बढी हुने बताइन्छ । स्रोतका अनुसार धनगढीका सातआठ वटा व्यापारिक फर्मले ठूलो परिमाणमा भारतबाट अवैध रूपमा चिनी भित्र्र्याउने गरेका छन् ।
धनगढीमा अहिले चिनीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेको छ । भारतको गौरीफन्टा बजारबाट भरियामार्फत अवैध रूपमा भित्र्र्याइने चिनीको मूल्य प्रतिकिलो ८० रुपैयाँ पर्ने गर्दछ । सो मूल्यमा खरिद गरेर ल्याइएको चिनी होलसेल पसललाई ८५ रुपैयाँका दरले तथा होलसेल पसलले खुद्रा पसललाई प्रतिकिलो ९० रुपैयाँका दरले बिक्री गर्ने गरेको पाइएको छ । खुद्रा पसलले ग्राहकलाई प्रतिकिलो ९५ रुपैयाँका दरले बिक्री गरिरहेका छन् । अवैध रूपमा ठूलो परिमाणमा चिनी भित्रिने गर्दा कैलालीमा सरकारको राजश्व संकलनमा पनि प्रभाव परेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार अहिलेसम्म सरकारले चिनि आयात नगर्दा सुपथ मूल्य पसलमा चिनि अभाव रहेको छ । दशँ तिहार तथा छठ जस्ता ठुला पर्वमा मानिसले चिनि, नुन, खाद्यान्न लगायत प्रयोग गर्छन । तर, सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा चिनि नपाउँदा उपभोक्ताहरु नीजि पसल तथा भारतीय बजारमा खरिद गर्न जान बाँध्य भएका छन् । धनगढीमा रहेका सुपर मार्केट चौलानी, भाटभटेनी लगायतले सरकारभन्दा सहुलियत दरमा चिनि दिने गरेका कारण सो प्रति स्थानीयको आकर्षण रहेपनि अहिले भारतीय बजारनै प्राथमिकतामा रहेको छ ।
दशैँ तिहार र छठ पर्वलाई लक्षित गर्दै व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय, धनगढीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदा पनि चिनि नपाउँदा आकर्षण घटेको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीका सहायक प्रवन्धक तेज बहादुर कुँवरले सुपत मुल्य पसलमा अन्य खाद्यन्न सामाग्री भएपनि चिनि नआएको बताए । बिगत ३ वर्षदेखि केन्द्रबाट नै चिनि नपठाएको उनले बताए । ‘अहिले हामी सँग चिनि छैन् । यसरी भन्नुुपर्दा सुदूरपश्चिम र तराइका जिल्लामा चिनि नै आएको छैन्’, उनले भने– ‘हाम्रो यता यो वर्ष गरेर तेस्रो पटक हो । चिनि आयात भएको छैन् ।,’ उनले अहिले काठमाडौँ उपत्यका बाहेक अन्य जिल्लामा चिनि नआएको बताए । उनले भने ‘टेन्डर प्रक्रिया आयातका लागि केन्द्रले नै गर्ने हो । तर त्यो अहिले प्रक्रियामै छ । केन्द्रले नै नपठाएपछि भने यहाँ समस्या छ ।’ उनले केन्द्रले नपठाए सम्म कहिले आउँछ भन्न नसकिने बताए । ठुला पर्वमा माग स्वतह बढ्ने गरेपनि तर, आयात नै हुन नसक्दा ग्राहकलाई बितरण गर्न नसकेको उनको भनाई छ ।
कार्यालयले चाडपर्व लक्षित गरी नुन, तेल चिउरा, दाल सुपथ मूल्य पसलमा ? दुईदेखि रु सातसम्म छुट दिएर बिक्री गर्दै आएको कार्यालयका सहायक प्रवन्धक कुवँरले बताए । उनले सुदूरपश्चिममा कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा, डोटीको दीपायल र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताए । ‘यस वर्ष धनगढी र अत्तरीयामा नुन, चिउरा, तेल, पिठो, मैदा र दाल बिक्री गर्दैछौँ,’ उनले भने ‘बाँकी ठाउँमा नुन मात्र बिक्री गर्दैछौँै ।’


