विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ।
राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन्। मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए। संविधानको धारा १६८ ९५० अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी गरेका थिए।
समर्थनकर्ताहरुले हस्ताक्षर सनाखत गरेपछि कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए। कांग्रेस नेता डा.शेखर कोइरालाले सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेपछि भने सत्ता गठबन्धनका दलहरुले पनि उनलाई समर्थन गर्ने निर्णय गरेका छन्। यस्तै बुधबार प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास हुने बताएका हुन्। सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुने उनले बताए।
मुख्यमन्त्री कार्कीलाई सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साथै गठबन्धनमा नरहेको नेकपा एमालेले पनि विश्वासको मत दिएको छ ।मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा नेकपा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई सहभागी गराएका छन् भने अझै ६ जना मन्त्री चयन बाँकी छ ।


