धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रस्टाचार सम्बन्धी थप फाइल खोल्ने बताएका छन् । धनगढीमा आयोजित समाजवादी मोर्चाको शन्देस सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहलले यो सरकार शुसासनका पक्षमा दृढ रहेको बताएका हुन् । देशमा शुसासन ल्याउन धेरै फाइल खोलेर कार्वाही प्रकृया अगाडी बढाइसकेको बताउँदै दाहालले अब थप फाइल खोलिने बताएका हुन् । मंगलबार समाजवादी मोर्चाको शन्देससभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका हुन् । सो सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार भ्रस्टाचारका एकपछि अर्को फाइल खोल्दै देशमा शुसासन कायम गर्न खोजिरहेको बताए । सुन काण्ड, नक्कली भुटानी सरणार्थी, बालुवाटार जग्गा काण्ड लगायतका फाइल खोलेर दोशी माथी कार्वाही अगाडी बढिसकेको दाहालले बताए । सरकार फेरी अन्य फाइल खोल्ने तयारीमा रहेको बताउँदै उनले भ्रस्टाचार गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्ने दावी गरे । एमालेलाई लक्षित गर्दै प्रधानमन्त्री दाहालले ७० करोड, ओम्नी, यति लगायतका भ्रस्टाचार काण्ड यो सरकारले नगर्ने बताए । यो सरकार भ्रस्टाचारीहरुलाई कानुनी दायरामा ल्याएर शुसासन कायम गर्ने उनको दावी छ ।
दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रियल एमाले नभएको टिप्पणी गरेका छन् । अहिले एमालेको नेतृत्व जसले गरेको छ उहाँ रियल एमाले नभएको उनले बताए । युद्धकालीन अवस्था स्मरण गर्दै प्रचण्डले अहिलेको नेतृत्व तत्कालीन अवस्थामा भएको भए परिवर्तन सम्भव हुन नसक्ने दावी गरे । प्रधानमन्त्री दाहलले अहिले पनि जनताको उपलब्धि गुम्ने खतरामा रहेकोमा जानकारी दिए । विधान मिचेर संसद् विघटन गर्ने र प्रतिगमनतर्फ लैजाने डरलाग्दो प्रयास भएकै थियो । अहिलेको मोर्चाकै टिमले त्यो षड्यन्त्रलाई परास्त गरेको बताउँदै उनले अदालतले पनि जनताको कुरा सुनेर संसद् पुनर्स्थापना गरेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहलले कांग्रेसभित्र तीव्र असन्तुष्टि र मतभेद रहेको बताएका छन् । एमाले भित्र पनि चिरा परेको छ । कांग्रेस पार्टी हो की मञ्च हो की मोर्चा हो ? बुझिनसक्नु रहेको जानकारी दिदै उनले कोशीमा एमालेले खेल्न खोजेको तर सफल नहुने दावी गरे । उनले दुई दिनसम्म कोशीको समस्या समाधान गर्न आफूले पहल गरेको पनि बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समाजवादी मोर्चा तयार गर्दा केही पार्टीको सातो गएको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले चार दल एक ठाउँमा आएर समाजवादी मोर्चा तयार गर्दा देशमा तरङ्ग सृजना भएको र अन्य पार्टीको सातो गएको टिप्पणी गरेका हुन् । उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पारे ।
समाजवादी मोर्चाको सन्देश सभालाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवलेपनि सम्बोधन गरेका थिए । मोर्चाको सन्देशसभा कैलालीको धनगढीबाट टुङ्गिँदै छ । यस अघि अन्य ६ प्रदेशमा यो सभा भइसकेको छ । मोर्चाले पहिलो चरणमा सन्देश सभा सम्पन्न भएपनि यस पछि जिल्लास्तर सम्म यस्तो अभियान सुरु गर्ने जनाएको छ ।


