सुर्खेत। कर्णाली प्रदेशको सुर्खेत बावियाचौरदेखि सुदुरपश्चिम प्रदेशको कैलालीसम्म नियमित यातायातका साधनहरु सञ्चालनमा आएका छन्। शुक्रबारदेखि कर्णालीको पञ्चपुरी नगरपालिकादेखि सुदुरपश्चिम प्रदेशमा जोड्ने बस सेवा सञ्चालनमा आएको हो।
कर्णाली नदीको कुईनेमा पुल निर्माण भएपनि लामो समयदेखि कैलालीसम्म गाडि सञ्चालन हुन सकेको थिएन। रुट परमिटको समस्याका कारण रोकिएको यातायात सेवा अबदेखि निरन्तर दैनिक ३ वटा गाडि सञ्चालनमा आउने यातायात समितिले जनाएको छ। नियमित यातायात सञ्चालनमा आएपछि सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, बाँके बर्दिया जान थप सहज हुने र ब्यापारीका लागि सामान ढुवानी गर्न समेत सजिलो हुने बताइएको छ। साविक कर्णाली, भेरीको दैलेख र सुदूरपश्चिमका अछाम तथा बाजुराको हटारु मार्गको केन्द्र बावियाचौर हो।
यहीँ बजारले जामु–कुइने हुँदै लुम्बिनी प्रदेशको राजापुर र सुदूरपश्चिमको चिसापानीसम्म हटारु बाटोको पहिचान बनाएको थियो। हटारु बाटोमा विस्तारै सडक र भेरी तथा कर्णाली नदीमा पक्की पुल बनेपछि घन्टौं पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गरेको छ। दैनिक सोल्टासम्म सवारी आए पनि सुर्खेत पश्चिमका नागरिकले कुइनेबाट अर्को सवारी फेरेर बावियाचौर आउनु पर्ने बाध्यता थियो। पक्की पुल बनेसँगै बावियाचौर–चिसापानी सडकयात्रा सहज बनेको छ। कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म कैलालीबाट दैनिक १५ वटा सार्वजनिक सवारी आउनेगरेका थिए।
रोजगारीका लागि भारत तथा सुदूरपश्चिम, बर्दिया र नेपालगञ्ज पुग्न यहाँका नागरिकलाई सहज भएको छ। सुर्खेतको बड्डीचौर हुँदै कोहलपुर–चिसापानीसम्मको करिब २०० किलोमिटर सडक ५२ किलोमिटरमा छोटिनेछ। छोटो दूरीको यातायातबाट साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। कैलालीसम्म सिधा गाडी सञ्चालन भएपछि यात्रा गर्ने यात्रुहरु खुसी भएका छन्।


