धनगढी। धनगढीमा जारी नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन सहमति नजिक पुगेको छ। निर्वाचन प्रक्रिया अघि बढे पनि सहमतिबाटै पदाधिकारी चयन गर्न केन्द्रको निरन्तरको दबाब पछि नेताहरू सहमति नजिक पुगेका छन्।
उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए।अहिलेसम्म अध्यक्षमा मनोनयन दर्ता गराएका बच्चन सिंह र कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन कमिटीको कार्यालयले सिंह र तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ।
नेताहरूका बिचमा अछामका कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भए पनि अछामकै भरत साउदको उम्मेदवारी कायम छ। साउदसँग अहिले संवाद भइरहेको छ।साउदले आफूले भनेका दुई जनालाई उपसचिव बनाउनुपर्ने सर्त अघि सारेका छन्। उनले नरबहादुर विक र भागीरथी विष्टलाई उपसचिव बनाउनुपर्ने बताएका छन्। सचिवमा पनि दुई जनाको उम्मेदवारी कायमै रहेको छ।
रणबहादुर चन्द र रतनराज रेग्मी प्रत्याशी छन्। सचिव पदका उम्मेदवार जीवन बम र उपसचिव पदका उम्मेदवार पल्लभराज भट्टले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन्। उपसचिवमा भागीरथी विष्ट, चन्द्रकला राना, अशोक चन्द, नरबहादुर विक, रामरत्न जोशी र सुरेन्द्र पाल प्रत्याशी छन्। अध्यक्षमा जैसी,सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी नेताहरू छलफलमा छन्।


