धनगढी। धनगढी उपमहानगरका सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको संख्याका आधारमा दरबन्दी मिलानको तयारी गरिएको छ। उपमहानगरले दरबन्दी मिलान गर्ने प्रक्रिया शिक्षक र विद्यार्थी संख्याको आधारमा हुने जनाएको हो। यसअघि विद्यालय समायोजन गरेको उपमहानगरले हाल दरबन्दी मिलान गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले दसैं विदा अगाडि नै दरबन्दी मिलानको कागजी प्रक्रिया टुङ्ग्याउने बताए।उनले विद्यालयको नियमित अनुगमन निरीक्षणको क्रममा रहेकाले विद्यार्थीको संख्या र शिक्षकहरूको विषयत विवरण तयार गरिरहेको बताए। उनले विद्यालय समायोजनका क्रममा फुल दरबन्दीमा रहेका र दरबन्दी मिलानका क्रममा फुल दरबन्दीमा परेका शिक्षकहरूको सरुवा गरिने बताए ।
शिक्षा महाशाखाले उपमहानगरभित्र सञ्चालित ७२ वटै सामुदायिक विद्यालयको अनुगमन र निरीक्षणपछि शिक्षकहरूको विषयगत संख्या तथा विद्यालयहरूको मागका आधारमा दरबन्दी मिलान गरिने जनाएको छ। साउनमा विद्यालय समायोजन गरेको उपमहानगरले दोस्रो चरणमा दरबन्दी मिलान गर्ने काम थालेको छ।
‘दरबन्दी मिलान गर्न सामुदायिक विद्यालयको विद्यार्थी र शिक्षकको तथ्याङ्क अध्याबधिक गर्न थालेको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख खातीको भनाई छ। धनगढीका केही सामुदायिक विद्यालयमा विद्यार्थीसंख्या कम भएपनि शिक्षक संख्या अधिक रहेको छ। भने बढी विद्यार्थी भएका विद्यालयमा शिक्षक दरबन्दी कम रहेको उपमहानगरले जनाएको छ।
स्थायी, राहत, करार र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकहरूको विषयगत वितरण पनि मिलेको छैन। यसैगरी, प्रधानाध्यापक, व्यवस्थापन समितिसँगको मनमुटावका कारण केही शिक्षकहरूले राम्रोसँग शिक्षण क्रियाकलाप नगरेको पाइएको छ। केही विद्यालयमा सामाजिक विषयका मात्रै शिक्षक हुँदा गणित र विज्ञान विषयका शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको उपमहानगरले जनाएको छ ।
विषयत शिक्षक नभएर शिक्षण सिकाइ कमजोर भएको गुनासो आएपछि उपमहानगरपालिकाले दरबन्दी मिलानको योजना अगाडि बढाएको जनाएको हो । शिक्षा महाशाखा प्रमुख खातीले सबै विद्यालयमा विषयगत शिक्षकको उपलब्धता होस् भनेर उपमहानगरपालिका दरबन्दी समायोजनमा लागेको बताए। दरबन्दी मिलानमा विषयगत शिक्षक अपुग भएका विद्यालयमा विषयगत शिक्षक पठाइने भएको उनको भनाई छ।अनुगमनपछि विद्यालय समायोजनको सूची प्रकाशित गरिने र समायोजनमा परेका शिक्षकहरूलाई काम गर्न चाहेको विद्यालय रोज्न लगाइने बताइएको छ ।


