कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चन्दन लगाउँदैमा र मानसरोवरमा डुबुल्की गर्दैमा पाप नकट्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्दै उनले सो कुरा बताएका हुन् । देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको ओलीले बताएका हुन् ।
‘अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेरमात्रै हुन्छर ?’, उनले भने, ‘जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन ।’
उनले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको टिप्पणी गरे। एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीको आरोप थियो । ‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ। ७ प्रतिशतभन्दा माथि पु¥याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ’, उनले भने, ‘देश अप्ठेरो अवस्थामा पुगेको छ।
अझै अप्ठेरो गतिमा पु¥याउनु हुँदैन ।’ सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै ओलीले प्रदेशलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको बताए। प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्ने ओलीको भनाइ छ।‘सुदूरपश्चिममा एमालेले चेतना ल्याउनुपर्छ । त्यो जिम्मेवारी अब आउने कमिटीलाई हुनेछ। यस अधिवेशनबाट आउने कमिटीले नेतृत्वको भूमिका खेल्नु पर्छ’, उनले भने । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन्। अध्यक्ष ओलीसँगै पार्टीका महासचिव शङ्कर पोखरेल, सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापा पुगेका छन्।


