कैलाली : कैलाली र कञ्चनपुरबाट प्रहरीले झण्डै साढे २ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका –२ को भन्सार नजिकैबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका २५ हजार बराबरको अचार, ललिपप, प्लाष्टिक झिल्ली लगायतका सामानहरु र मिलनचोकबाट अन्दाजी ३१ हजार ९५०बराबरको चिनी,पास्ता,लेडिज सुट लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा ती सामान फेला पारी आवश्यक कारवाहीका लागि बरामद गरेको हो । यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–५ सुकासालबाट एक लाख ४० हजार बराबरको लेडिज सुट, धोती लगायतका सामान बरामद गरिएको छ भने बेलौरी नगरपालिकाको ६ बैशाखाबाट ४८ हजार ८ सय बराबरको चिनी,बिष्कुट,प्लाष्टिक झिल्ली,बिडी लगायतका सामान बरामद गरिएको छ ।
बेलौरीकै बैशाखीबाट १५ हजार बराबरको ट्याक्टरको टायरको रिङ लगायतका सामानहरु समेत बरामद गरिएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि सम्बन्धीत भन्सार कार्यालयमा बुुझाइने प्रहरीले जनाएको छ ।


