धनगढी : सोमबार राती लक्ष्मी राइको परिवार खानपिन खाएर मस्त निद्रामा थियो । कैलालीको गोदावरी नगरपालिका ४ बुढितोलाको भावरटोलकी लक्ष्मी र उनका श्रीमान सडक नजिकैको सानो छाप्रोमा सुतेका थिए । राती १० बजे खाना खाएर घरको कामसंगै बाख्रा गाई बस्तु स्याहार्ने काम भोलीका लागी थाँती राखेर राइको परिवार सुतेको थियो । भोली हुन नपाउँदै राती १ बजे घर छेउको ठुलो रुख ढल्यो । लक्ष्मीका श्रीमान मस्त निद्रामै भएका कारण उनले रुख ढलेको थाहा पाएनन् । तर लक्ष्मी रख ढलेको थाहा पाउने बितिक्कै हतपत उठेर श्रीमानलाई उठाउन थालिन् । श्रीमानको निद्रा खुलेन अनी सुत्केरी बुहारी र छोरा अनी नाती नातिना सुतेको अर्को घर तर्फ उनि दौडिइन् र संगै श्रीमानपनि ब्युँझिए ।
म बाहिर निस्कदा फेरी ठुलो आवाज आयो अनी श्रीमानकोपनि निद्रा खुलेछ र उहाँपनि उठ्नुभयो लक्ष्मीले भनिन् “दुई बुढाबुढी सडकछेउकै सानो छाप्रोमा थियौँ छोरा, बुहारी र नाती नातिना अर्को घरमा थिए, उनिहरुलाई उठाउन अँध्यारोमै दौडियौँ उता ढोका खोल्न खोज्दा च्याप्पिएर खुल्दै नखुल्ने भयो, बल्ल तल्ल बाहिरबाट बुढाबुढी र भित्रबाट छोराबुहारी लागेर ढोका खोल्न सक्यौँ त्यतिबेलासम्म घरनै लगिहाल्छ कै झैँ लागिरहेको थियो धन्न बचायो ।” त्यसै अवस्थामा साना नाती नातिना सहित हामी आफन्तहरुको घरमा आयौँ यहाँ शुरक्षित थियो तर समान केही ओसार्न पाएनौँ, उनले भनिन् “गोठमा रहेका बाख्रा, माहुरी र केही लगाउने लुगा कपडा ल्याउन सकेका छौँ अरु सबै उतै छ, अब कसरी ल्याउनु घर पुरै चिरा चिरा परेका छन्, भित्र जान सक्ने स्थिती छैन ।”
उनले भनिन्,‘बस्ती भासिएर चिराचिरा पर्नुका साथै सडक नै उध्रिएको देखेपछि सबै अत्तालिएर ज्यान जोगाउन भाग्यौँ ।’ राति १ बजे टोलका ९ वटै घरका मानिसहरु हुल बाँधेर नजिकैको बस्तीमा रहेका आफन्तको घरमा सहारा लिन पुगेको उनले बताइन् । आफू २७ वर्षदेखि सोही ठाउँमा बस्दै आएपनि अहिलेसम्म सो क्षेत्रमा त्यस्तो पहिरो जाने र जमिन भासिएको नदेखेपनि एक्कासि सोमबार राति आएको वर्षात्ले यस्तो अवस्था ल्याइदिएको उनले बताइन् । जायजेथाको नाममा त्यही जमिन रहेको बताउँदै उनले भनिन्,‘हामी यहाँ बस्ने ९ वटै परिवारका सम्पत्तिको नाममा त्यही जग्गा जमिन थियो, त्यही भासिँदा अब कहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको छ ।’
राती म त मस्त सुतेको थिए एक्कासी अर्को घरबाट आमा बुवा आउनुभयो यता उता छिमेकीको हल्लापछि ब्युँझिए भावरटोलकै बिर बहादूर राइले भने “यताउता रुख ढलेका छन्, घरमा चिराचिरा छ म त सपनामा छुकी झैँ भइरहेको थियो तर सपना नभई बिपनामै यस्तो भएको रहेछ, सबै टोलबासी आफुसंग भएका समान सहित भाँगिरहेको देखेपछि म पनि परिवार सहित अर्को टोलमा आफन्तकहाँ पुगेका छौँ, नजिक भेटिएको सामान्य समान बाहेक केही ल्याउन पाएनौँ, सबै घरभित्रै केही च्यापिएको छ केही उस्तै तर निकाल्न सकिने अवस्था छैन ।”
उनि संगै भावरटोलका ९ घर परिवार बिस्तापित भएका छन् । उनिहरु आफन्तकहाँ आश्रय लिएर बसिरहेका छन् । बस्ती भासिँदा भावर टोलका लक्ष्मी राई, टेकबहादुर राई, वीरबहादुर राई, वसन्त राई, नारायण राई, राकेश घिमिरे, ईश्वर बोहरा, दिनेश आलेमगर र कमल रोकामगर विस्थापित बनेका छन् । उनीहरुको घर चिराचिरा पर्नुका साथै बस्न लायक नभएको स्थानीय बताउँछन् ।
भावर टोल क्षेत्रमा मात्रै नभई भीमदत्त राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ। पहिरो गएको ठाउँमा डोजरले हटाए पनि भावर टोलको पहिरो तथा भासिएको जमिन क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध छ। पहिरो र रुख रहेकाले डोजर सडक उध्रिएको ठाउँमा पुग्न समय लाग्ने भएको छ । सडकमा पहिरो जानुका साथै उध्रिएका कारण तत्काल सडक यातायात सुचारु हुने सम्भावना छैन । वर्षात् जारी रहेकाले अवरोध हटाउने र चिराचिरा परेको ठाउँमा वैकल्पीक सडक बनाउन कठिनाइ भइरहेको छ ।
तराईबाट जाँदा पहिलो पटक देखिने पहिरोमा सडक डिभिजन कार्यालय महेन्द्रनगरको प्राविधिक समूहले डोजर चलाए पनि चिराचिरा परेको सडकमा कसरी ट्रयाक खोल्ने भन्ने समस्या भएको स्थानीय बताउँछन् । मंगलबार दिनभर सडक सुचारु हुने अवस्था नरहेको र अहिले पनि पहिरो खस्ने तथा सडक चिराचिरा पर्ने क्रम जारी छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सव इञ्जिनियर नरेश भट्टका अनुसार पहिरो आएको ठाउँमा पन्छाउने काम भए पनि उध्रिएको सडकमा तत्काललाई ‘वान वे’सम्म पनि बनाउन प्रयास थालिने छ । अहिले सो क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धारको कार्य गरिरहेका छन् ।
पहाडबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट बिरामीलाई स्टेचरमा बोकेर डाँडो छिचोल्दै नेपाली सेनाले बिरामीहरुको उद्धार गरिरहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाबाट आएका र तराईबाट पहाड जाने सवारी साधन बाटोमै रोकिएका छन् भने सयौँ यात्रुहरू अलपत्र परेका छन् । करिब १ घण्टा उकालो पैदल हिँडेर सडक उध्रिएको ठाउँमा पार गरिरहेका यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ भइरहेको छ ।
सडक चिराचिरा र जमिन भासिएको भावर टोलभन्दा माथिको बस्ती पनि पूर्ण जोखिममा रहेको छ । बस्ती जोखिममा हुँदा स्थानीय आफन्तको आश्रय खोज्दै बुढीतोला गाउँतर्फ बसाइँ सरेका छन् । जमिन भासिँएको तथा सडक उध्रिएको ठाउँको स्थलगत अवलोकन गर्न सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टसहितको टोली मंगलबार दिउँसो सो क्षेत्रमा पुगेका थिए ।


