धनगढी। धनगढीको यातायात व्यवस्था कार्यालयले अनिश्चिलकालका लागि बन्द गरेको सवारी साधनको दर्ता र नामसारीको कार्य पुनः सुचारु गरेको छ। कार्यालयले बुधवार एक सूचना प्रकाशित गरी आज ९विहीवार० १८ गतेबाट दर्ता र नामसारीको कार्य पुनः सुचारु हुने जानकारी गराएको हो ।
कार्यालयले आन्तरिक व्यवस्थापन लगायत विविध कारण देखाई उक्त सेवाहरु बन्द गरेको थियो। कार्यालयले सूचना प्रकाशित गरी साउन १५ गते सोमवारबाट लागु हुने गरी अर्को सूचना नआउञ्जेल सम्मका लागि अनिश्चितकालका लागि दर्ता र नामसारीको सेवाहरु बन्द गरेको थियो। यातायात व्यवस्था कार्यालय सेतीका प्रमुख नरेन्द्र शाहले आजदेखि सम्पूर्ण सेवाहरु पूर्ववत प्रदान गरिने जानकारी दिए।
अधिकांश कर्मचारीहरु बिभिन्न बहाना गरी अनुपस्थित हुन थालेपछि यातायात व्यवस्था कार्यालयले साउन १५ गते सवारी साधनको दर्ता र नामसारी अनिश्चिलकालका लागि बन्द गर्ने सूचना टाँस गरेको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी अनुमती पत्र वितरणमा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालयका तत्कालिन प्रमुख लक्ष्मण शाह लगायतका कर्मचारीहरुमाथि मुद्दा चलाएपछि अधिकांश कर्मचारीहरु बिभिन्न बहानामा कार्यालयमा अनुपस्थित हुदै आएका छन् ।
१४ जनाको दरबन्दी रहेको यातायात कार्यालयमा आधाभन्दा बढि कर्मचारी अनुपस्थित हुदै आएका थिए। अधिकांश कर्मचारीले अन्यत्र सरुवा माग गरेका छन् । केही दिन ८ जना कर्मचारी कार्यालय नआउदा यातायात कार्यालयले सवारी साधन दर्ता र नामसारीको काम अनिश्चितलकालका लागि बन्द गर्ने निर्णय गरेको थियो। यातायात कार्यालयका प्रमुख शाह सहितका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई भेटेर काम गर्ने वातावरण नभएको भन्दै वातावरण बनाउन आग्रह गरेका थिए ।यातायात कार्यालयमा दरबन्दी भएर कार्यालयमा नआउने र अन्यत्र सरुवा माग्ने कर्मचारीलाई प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको थियो। त्यसपछि आजदेखी दर्ता र नामसारीको कार्य पुनः सुचारु हुने जानकारी दिइएको छ ।


