कञ्चनपुर। महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको नहरमा छोडिएको छ । नहरमा पानी छोडिएपछि हुन सक्ने समस्यालाई मध्यनजर राख्दै ३ दिनसम्म नहरको परीक्षण गरिएको हो।
४८ घण्टाभन्दा धेरै समय लगाएर टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको नहरमा छोडिएको पानी २८.८ किलोमिटर टाढा शुक्लाफाँटा नगरपालिकास्थित घरकटुवा खोलामा पुग्दैछ। आयोजना तेस्रो चरणको कार्यालय प्रमुख रणबहादुर बलमे आज साँझसम्म घरकटुवा नदीमा पानी पुग्ने बताए। शुक्रबार बिहान टनकपुर ब्यारेजबाट पानी छाडेर नहरको परीक्षण सुरु गरिएको हो।
टनकपुर ब्यारेजबाट दुईदेखि पाँच घनमिटर प्रति सेकेण्ड (क्यूमेक) पानी छोडर नहरको परीक्षण गरिएको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको हिरापुरमा बाहेक अन्यत्र नहर सफल रहेको कार्यालय प्रमुख बमले बताए । हिरापुरमा झण्डै चार सय मिटर लम्बाईको भागमा २२ मिटर गहिरो हुने गरी डाँडै काटेर नहर खनिएको छ।
सो स्थानमा माटो खस्ने समसया रहेकोले त्यसलाई रोक्न काम भइरहेको बमको भनाई छ। ‘माटो खसेर पानीको वहाव बन्द हुनसक्ने जोखिम भएकोले रोक्न काम भइरहेको छ’ उनले भने। एक वर्षअघि जेठमा पहिलो पटक नहरको परीक्षण गरिएको थियो। पहिलो चरणमा १८ किलोमिटर मूल नहर परीक्षण गरिएको थियो। आर्थिक वर्ष ०६२/०६३ मा निर्माण सुरु भएको उक्त आयोजनाको हालसम्म २८.८ किलोमिटर मूल नहर मात्रै बनेको छ।मूल नहर बनेका ठाउँमा शाखा नहर निर्माणका काम यसै आर्थिक वर्षदेखि सुरु भएको छ।
उक्त क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन अवस्थामा छन् । शाखा नहर निर्माण भएमा आगामी वर्षभित्र ५२ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ ।गत वर्ष मूल नहर परीक्षण भएपछि आयोजनाले नियमित पानी सञ्चालनका लागि पहल गरेपछि भारतीय पक्षले विभिन्न किसिमका बहाना बनाएर पानी छाड्न मानेको छैन । भारतीय पक्षले उच्चस्तरबाटै औपचारिक उदघाटनपछि मात्रै पानी सञ्चालन गर्ने अडान लिएको छ ।५१ किलोमिटर मूल नहर रहेको अयोजना सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ।


