कैलाली। कैलालीको एक विद्यालयमा छात्रा बेहोस हुन थालेपछि पूजा लगाइएको छ। कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा सामूहिक रुपमा बेहोस हुन थालेपछि विद्यालयले नै छात्राहरुको ग्रहशान्तिका लागि पूजा लगाएको हो।
यस साताको सुरुबाट विद्यालयमा छात्रा बेहोस हुन थालेपछि पूजा लगाइएको विद्यालय सञ्चालक समितिका अध्यक्ष बमबहादुर सिंहले सञ्चारमाध्यमलाई बताएका छन् । उनले ६ देखि १० कक्षा पढ्ने अधिकांश छात्रामा बेहोस हुने, कराउने र बर्बराउने समस्या देखिएको बताए ।समस्या समाधानका लागि विभिन्न उपाय अपनाउँदा पनि ठीक नभएपछि अभिभावकसमेतको सुझावअनुसार ग्रहशान्ति पूजा लगाइएको बताए।
घोडाघोडी नगरपालिकाका ५१ वटा सामुदायिक विद्यालयमध्ये अधिकांशमा छात्रा बेहोस हुने, बर्बराउने, चिच्याउने समस्या देखिएको छ। घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले कक्षा ७ देखि माथिको कक्षामा अध्ययन गर्ने छात्रामा त्यस्तो समस्या रहेको बताए। पहाडी समुदायका छात्रामा मात्रै यो समस्या देखिएको उनले बताए। ‘अहिलेसम्म थारू समुदायका छात्रामा त्यस्तो दखिएको छैन’, उनले भने।
बालबालिकालाई विज्ञानमा आधारित शिक्षा दिनुपर्ने विद्यालयमैं अन्धविश्वास जगाउने खालको गतिविधि भएको आरोप पनी लागेको छ। साइकोलोजी टुडे नामक एक विशिष्टकृत स्वास्थ्य जर्नलमा रोबर्ट मार्थोलामु लेखेका छन्,यस्तो मास हिस्टेरिया कुनै विशेष तनावका कारण हुन सक्छ। विद्यालयको कडा परिवेश, वातावरणीय प्रभावका कारण महिलाहरुमा यस्तो हिस्टिरिया देखापर्छ। एसिया र अफ्रिकामा यो समस्यालाई धार्मिकतासँग जोडिए पनि यो मनोवैज्ञानिक समस्या रहेको उल्लेख गरेका छन्।


