रुकुम पश्चिम। कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटनामा परेको छ। खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको जीप रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखामा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर सभापति खड्कासहित नौ जना घाइते भएका छन्।चौरजहारी नगरपालिका –९ मा रहेको आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननीय खड्काका स्वकीय सचिव हुकुम बीसी, चालक युवराज गिरीसहित गाडीमा रहेका नौ घाइते भएका हुन्।
भोलि आइतवार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँसभामा सहभागी हुन त्यसतर्फ जाँदै गर्दा जीप दुर्घटना भएको हो। स्टेयरिङ अकस्मात घुमेपछि अनियन्त्रित भएर जीप पल्टिएको चालक गिरीले बताए । इलाका प्रहरी कार्यालय चौरजहारीले घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ।


