धनगढी। सुदूरपश्चिम प्रदेशको आठ जिल्ला सक्रिय कोरोना सङ्क्रमित मुक्त भएको छ । कैलालीसहित पहाडी सबै जिल्ला सक्रिय सङ्क्रमितमुक्त भएको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार अब तराईको कञ्चनपुरमा मात्रै सक्रिय सङ्क्रमित बाँकी छन्।
कञ्चनपुरमा पाँच जनामात्रै सक्रिय सङ्क्रमित रहेको जनाइएको छ। कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला सक्रिय सङ्क्रमित मुक्त भएको छ। गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेपछि सङ्क्रमण बढेको थियो। बिसु पर्व मनाउन भारतबाट फर्केकाहरु कोरोना सङ्क्रमित भएर कुना कन्दरामा पुगेपछि पहाडी जिल्लामा सङ्क्रमण देखा परेको थियो ।
अहिले सबैतिर सङ्क्रमण घटिसकेको स्वास्थ्यकर्मीले जनाएका छन्। बिहीबार प्रदेशभरी १३० जनाको नमूना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको प्रादेशिक स्वास्थ्य निर्देशनलायको बुलेटिनमा उल्लेख छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले फाटफुट रुपमा मात्रै भारतबाट फर्किनेहरुमा कोरोना देखा परिरहेको बताए। उहाँले कोरोनाविरुद्धको खोप लगाउने काम पनि जारी रहेको बताए। पछिल्लो समय सङ्क्रमण बढ्दा थुप्रैले बुस्टर डोजको दोस्रो मात्रा खोप लगाएका छन्। सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ६७ हजार १२८ जनाको नमूना परीक्षण गरिएको छ। जसमध्ये ६२ हजार ४७६ जनालाई सङ्क्रमण देखा परेको थियो।गोरखापत्रबाट


