कञ्चनपुर। तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा घोटालामा संलग्नलाई कारवाहीको माग गरिएको छ। नगर विकास समितिको जग्गा घोटालामा संलग्नलाई कारवाहीको माग गर्दै एक साता अघि मदनचोकस्थि पिपलचौतारामा आमरण अनशन सुरु गरिएको छ।
जग्गा घोटालामा संलग्न सबैमाथि छानबिन गरी कारवाहीको माग क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले गरेको छ। आमरण अनशन बसेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका दिल बहादुर विक(निरज), जय बहादुर रोकाया र दिपेन्द्र सिह ऐरी बसेका छन् । आमरण अनशन बसेका दुई जना विक र ऐरीको आज स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य हरि सुवेदीले नगर विकास समितिको जग्गामा व्यापक घोटाला को छानबिन संलग्नलाई कारवाही हुनुपर्ने बताए । उनले भने, ‘नगर विकास समितिको जग्गामा व्यापक घोटाला गरिएको छ, त्यसको छानबिन गरी त्यसमा संलग्नलाई कारवाही हुनु पर्ने हाम्रो माग हो, कारवाही नभएसम्म अनशन बस्छौ, अनशन बस्दा साथीहरुको स्वास्थ्यमा समस्या आयो’ उनले भने,‘माग पूरा नभएसम्म अनशन रोकिँदैन ।’क्रान्तिकारी कम्युनिष्ट पार्टीले आमरण अनशन अघि पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेको थियो ।
पत्रकार सम्मेलन गरिएको दोस्रो दिनदेखि मदनचोकमा आमरण अनशन सुरु गरिएको हो । तत्कालिन महेन्द्रनगर नगर विकास समिति अहिले भीमदत्त नगरपालिका मातहत आएर भीमदत्त नगर विकास समिति बनेको छ । समितिले मापदण्ड मिचेर जग्गा बिक्री र लिजमा दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले छानबिन गरी विशेष अदालतमा मुद्दा दायर गरि सकेको छ । नगर विकास समितिको ६ सय ३८ बिघा जग्गामध्ये हाल ६६ बिगाहा मात्रै बचेको छ।
महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष र मालपोत कर्यालयका तत्कालिन प्रमुखसहित ६४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको थियो । नगर विकासको जग्गा प्रकरणमा संलग्न तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष, समितिमा कार्यरत कर्मचारीहरु र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारीहरु, कित्ताकाट प्रकृयामा संलग्न नापी कार्यालयका कर्मचारीहरु तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरुको हकमा सजाय मागदाबी गर्दै २०७९ वैशास ११ गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो।यता अख्तियार कञ्चनपुरका सूचना अधिकारी भण्डारीले काम कावार्ही प्रक्रियामा रहेकोले अनुसन्धान भैरहेको बताए। अनुसन्धानमा भएपछि मात्रै जानकारी प्राप्त हुने बताए।


