धनगढी। कैलालीका ५ सडक स्तरोन्नतिको लागि मन्त्रालयमा योजना प्रस्ताव दर्ता गरिएको छ । वर्षैदेखि स्तरोन्नति हुन नसकेका सडकहरूको स्तरोन्नतिसहित कालोपत्रेको लागि सम्बन्धित मन्त्रालयहरूमा योजना प्रस्ताव दर्ता गरीएको हो।
कैलाली निर्वाचन क्षेत्र १ देखि ५ का क्षेत्रसँग पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्ग जोड्ने ती सडक कालोपत्रेका लागि भौतिक पूर्वाधार मन्त्रालय र सहरी विकास मन्त्रालयमा योजना प्रस्ताव पेस भएको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का सांसद गङ्गाराम चौधरीले बताए। जिल्लाको १९ किलोमिटर लामो हसुलिया–बडैपुर सडक वर्षौँदेखि अलपत्र अवस्थामा छ। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका र हुलाकी सडक अन्तर्गत कैलारी गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नतिसहित कालोपत्रेको काम वर्षौँदेखि अलपत्र परेको हो।
यो हसुलिया–बडैपुर सडकसँगै पहलमानपुर–मछमुडिया–चर्रा हुँदै हुलाकी राजमार्गसम्मको सडक, घोडाघोडी–भजनी रोड, बौनिया–भजनी रोड, सुखडदेखि पाण्डौन सडक स्तरोन्नति र कालोपत्रेको लागि फाइल अगाडि बढाइएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का सांसद चौधरीले जिल्लाका विकासको मेरुदण्डको रूपमा रहेका ती सडक स्तरोन्नति र कालोपत्रेको लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट कार्यक्रममा समावेश गराउन प्रस्ताव पेस गरिसकेका बताए। सो कार्य हुनेमा निकै आशावादी रहेको उनले बताए।
कैलाली जिल्लाको भविश्यको रूपमा हेरिएको ५ सडक स्तरोन्नतिको लागि यस क्षेत्रका प्रतिनिधि सभा सदस्यहरूले सक्रियता बढाएका छन् । उनीहरुले सडकहरुको समेत अनुगमन गरेका छन् । यसैबीच कैलाली निर्वाचन क्षेत्र नं. ५ का सांसद डिल्लीराज पन्तले फूलबारीको तुलसी चोकदेखि धर्मपुर-बनकट्टा- गदरिया हुँदै राजीसम्मको सडक पनि कालोपत्रेको लागि सरकारसँग २५ करोड माग गरेको बताए । त्यस्तै सिमराना र डमौलियास्थित पर्ने नदीहरूमा पक्की पुलको लागि पनि योजना प्रस्ताव गरेको पन्तको भनाई छ।


