काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा जेठ ५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति कार्यक्रममाथिको छलफलका क्रममा प्रश्नको जवाफ दिँदै उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताए । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ ।
थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिवद्ध रहेको जानकारी पनि माननीय सदस्यहरुलाई गराउन चाहन्छु’ उनले भनेका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत र मित्रराष्ट्रसँगको सम्बन्ध थप प्रगाढ बनाउने पनि बताएका छन् । त्यस्तै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमान र सीमानाको सुरक्षाका लागि सरकार सचेत र प्रतिवद्ध रहेको पनि उनले बताए ।
परराष्ट्र नीति सञ्चालनमा सबै राजनीतिक दलबाट एउटै धारणा हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताएका छन्। प्रस्तुत नीति तथा कार्यक्रमले संघीयताको सदृढीकरण, अर्थतन्त्रको संरचनात्मक सुधार र पुनःउत्थान, कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण, आद्योगिक क्षेत्रको प्रवर्द्धन, उत्पादन र रोजगार वृद्धि गर्ने प्रधानमन्त्रीको भनाइ छ। आयात व्यवस्थापन र निर्यात प्रवद्र्धन, विकास निर्माण कार्यको निर्धारित लागत र समयमा सम्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्यलगायतका सार्वजनिक सेवाको पहुँच र गुणस्तर, शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण एवं सामाजिक न्याय र शान्ति सुरक्षा कायम गर्ने विषयलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको उनले भने।


