धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह मन्त्री बनेका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । शनिबार नै बसेको कांग्रेसको सुदूरपश्चिम संसदीय दलको बैठकले सिंहलाई मन्त्री बनाउने निर्णय गरेको थियो। त्यस्तै माओवादी केन्द्रबाट झपट साउद र रमेश धामी मन्त्री बनेका छन् भने गीतादेवी माल राज्यन्त्री बनेकी छन्।
साउद सामाजिक विकास मन्त्री र धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्। गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको शनिबार अपरान्ह प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिने तयारीमा छन्। प्रदेश प्रमुखको कार्यालयमा अहिले नेता तथा समर्थकहरुको भीड रहेको छ । दुई मन्त्रालय नपाए सरकारमा सहभागि नहुने प्रतिक्रिया दिएको नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीका लागि नाम सिफारिस नभएपछि सरकारमा गएको छैन्।
उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको तर अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताए । यद्यपि आफूहरु छलफलमै रहेको उनले बताए । उन्मुक्तिले मन्त्रीको नाम नपठाएपछि प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अझ केही दिन मुख्यमन्त्री कमलबहादुर शाह मातहात रहने छ। नागरिक उन्मुक्ति पार्टीका लागि मुख्यमन्त्री शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् । २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए । देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन्। त्यसपछि मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन्।


