कैलाली। सुदूरपश्चिममा मन्त्रालय भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा अहिले कांग्रेस ,माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बसेको हो। अहिले साँझ ५ बजे देखी बसेको बैठकले अहिलेसम्म ठोस निर्णय गर्न सकेको छैन । बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाउने छ।
आजै सुदूरपश्चिम प्रदेशमा सरकार बिस्तार गर्ने मुख्यमन्त्री कमल बहादुर शाहले तयारी गरेका छन्। अहिले सम्म मन्त्रीहरूको नाम टुङ्गो लागिसके पनि मन्त्रालयको भागबन्डा भने मिल्न सकेको छैन।नागरिक उन्मुक्तिले सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको छ। यस्तै, नेकपा माओवादी केन्द्रले पनि सामाजिक विकास मन्त्रालयमा दाबी गरेकाले भागबन्डा मिलाउन बैठक बसेको छ ।
सुदूरपश्चिममा अहिले चार मन्त्रालयमा मन्त्री विहीन छन्। माओवादीले र नागरिक उन्मुक्तिले २/२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरिरहेको छ । चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न सकेको छैन ।अहिले मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मन्त्रालयमा सहमति जुटाउने र आजै शपथ ग्रहण गर्ने तयारी भइरहेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
माओवादी केन्द्रले पाउने २ मन्त्रीमा सहमति भइसकेको छ। रमेश धामी र झपट साउद मन्त्री बन्ने पक्का छ । नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय भइसकेको छ । नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने सम्भावना बढि रहेको छ । संसदीय दलले भने यस बिषयमा अहिले सम्म कुनै निर्णय गरेको छैन ।


