धनगढी : कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को बेहडाबाबा मन्दिरको महादेवा तालमा मोटरबोट सञ्चालनमा आएको हो। नेपाल बोट एण्ड अम्युज्मन्ट् प्रा.लिले बोट सञ्चालनमा ल्याएको हो। आन्तरिक पर्यटन विकासका लागि भन्दै सो तालमा कम्पनीले ६ बोट सञ्चालनमा ल्याउने तयारी गरेको छ।
प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले तालमा मोटरबोट सञ्चालनको उद्घाटन गरेका हुन्। बेहडाबाबा मन्दिर व्यवस्थापन समितिसँग नेपाल बोट एण्ड अम्युज्मन्ट्ले बोट सञ्चालनका लागि तीन वर्षे सम्झौता गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए। कम्पनीसँग मोटरबोट सञ्चालनका लागि तीन वर्षे सम्झौता भएको छ, उनले भने, तालमा बोट सञ्चालन भएपछि पर्यटकको संख्या बढ्ने हामीले अनुमान गरेका छौँ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा मोटरबोट सञ्चालनमा आएपछि पर्यटकको संख्या बढ्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीको दाबी छ। महादेवा तालमा कम्पनीले तीनवटा मोटरबोट तीनवटा साना बोट सञ्चालनमा ल्याउने छ। तालको मध्य भागमा रहेको महादेवा अर्थात गङ्गा मन्दिरमा पूजा गर्न जान प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्नेछ भने मोटर बोटमा पूरै तालमा सयर गर्न प्रतिव्यक्ति तीन सय शुल्क लाग्नेछ। यस्तै, सानो बोट एक घण्टा चलाउँदा पाँच जनाको समूहले पाँच सय शुल्क तिर्नुपर्ने छ। कम्पनीले ताल क्षेत्रको सफाइ तथा सामान्य निर्माणको कार्य आफैंले गर्ने जोशीले बताए।


