धनगढी। काठमाडौँमा शीर्ष नेताहरुसँगको भेटघाटपछि सत्ता साझेदार दल माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीसँग भागबण्डा मिलिसकेकाले बिहीबार सुदूरपश्चिम सरकार विस्तार हुने बताइएको थियो । तर साँझसम्म भने मन्त्रिपरिषद् विस्तारबारे कुनै तरखर नभएपछि कर्मचारीहरु कार्यालय समय सकिएसँगै घरतर्फ लागे। मन्त्रिमण्डलले पूर्णता पाउने जनाइएपनि अहिलेसम्म निश्चित भने देखिँएको छैन् ।
आईतबार मुख्यमन्त्री कमलबहादुर शाह लगायतका टोली संघीय राजधानी काठमाडौं पुगेपछि यहाँ सरकार विस्तारको चर्चा चल्यो। मुख्यमन्त्री शाहसँगै कांग्रेस कैलालीका प्रभावशाली नेता एवं सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नेकपा माओवादीका सुदूरपश्चिम इन्चार्ज लगायतका नेताहरू काठमाडौं पुगेका थिए। सोमबार टोलीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरे। तर बुधबार, सरकार बिस्तार हुने आशासहित टोली फर्केर सुदूरपश्चिम पुग्दा पनि तीन महिनादेखि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका मुख्यमन्त्री शाहले मन्त्रालयको जिम्मेवारी बाँडफाँट भने गर्न सकेनन् ।
मन्त्रालयमा भागबन्डा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुन नसकेको हो। बिहीबार मन्त्रीमण्डल विस्तार हुनेसम्म चर्चा चले पनि काम भने हुन सकेन। प्रदेश प्रमुख बिहीबार सरकार विस्तार हुने कुरामा ढुक्क थिए तर, अबेर साँझसम्म भने मन्त्रिपरिषद विस्तारबारे कुनै तरखर नभएपछि कर्मचारीहरू कार्यालय समय सकिएसँगै घरतर्फ लागेका हुन्। मुख्यमन्त्री शाहले बिहीबार दिउँसो पनि प्रदेश प्रमुख देवराज जोशीसँग सरकार विस्तारका सम्बन्धमा छलफल गरेका थिए । नेताहरूका अनुसार सत्तारुढ गठबन्धनमा आबद्ध माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सरकारमा पठाउने प्रदेशसभा सदस्यको नाम करिब टुंगो लगाएका छन् । तर, मन्त्रालयको भागबण्डामा कुरा नमिलेकाले बिहीबार सरकार विस्तार गर्न नसकेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ।
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय नै गरिसकेको छ । तर, माओवादी केन्द्रले निर्णय गर्न बाँकी छ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका नेता खगराज भट्टलाई आलोपालोमा साढे दुई वर्षपछि मुख्यमन्त्री बन्ने भन्दै अहिले सरकारमा नजान सुझाव दिएका छन् । सोहीअनुसार भट्ट तत्काल सरकारमा नजाने भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित सांसद रमेश धामीले आफ्नो पार्टीमा मन्त्रालयको टुङ्गो नलागेसम्म कुन व्यक्ति मन्त्री बन्ने विषयमा सहमति नभएको बताए । ‘गठबन्धनमा आबद्ध नेताहरूका बीचमा छलफल, कुराकानी भइरहेको छ, उतैबाट टुङ्गिएपछि सरकार विस्तार हुने हो,’ धामीले भने, ‘चाँडै टुङ्गिन्छ भन्नेमा हामी विश्वस्त छौँ ।
उनले आफ्नो पार्टीले तीन वटा मन्त्रालयमा दाबी गरेको बताए । माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पाउनुपर्ने अडान राखेको छ ।सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीको पनि अडान छ । ‘हामीले दुई वटा मन्त्रालय पाउनुपर्छ भन्ने कुरा राखेका छौँ । सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयमा हाम्रो दाबी हो’, नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘आजसम्म सबै कुरा मिलेर मुख्यमन्त्रीज्यूले यसैअनुसार सरकार विस्तार गर्नुहुन्छ भन्ने विश्वास लिएका छौँ ।’
मुख्यमन्त्री शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले दलहरुबीच भइरहेको छलफलले अन्तिम रूप नलिएका कारण सरकार विस्तार हुन नसकेको दाबी गरे। २६ माघमा एमालेका राजेन्द्र रावल नेतृत्वको सरकार ढलेपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाहले कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए । एमाले नेतृत्वको गठबन्धन भत्किएर केन्द्रमा नयाँ गठबन्धन बनेपछि नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रले पनि मुख्यमन्त्रीलाई २१ फागुनमा विश्वासको मत दिएको थियो । दलहरूका बीचमा भागबन्डा नमिलेकै कारण मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिना बित्दासमेत शाहले सरकारले पूर्णता पाउन सकेका छैन ।


